सिन्धुलीबाट मकवानपुरको बकैया गाउँपालिका हुँदै हेटौँडातर्फ आइपुग्दै गर्दा खिचिएको फोटो ।

हेटौँडाः छिमेकी मुलुक भारतको साविक दार्जिलिङ र अहिलेको कालिम्पोङ जिल्लाबाट दुई जना युवाहरु दौडेर शनिबार हेटौँडा आइपुगेका छन् । करिब ६ सय किलोमिटर दूरी दौडेर पार गर्दै भारतको जल्डकाका २७ वर्षीय नरदेन तामाङ र २३ वर्षीय अनुक शर्मा हेटौँडा आइपुगेका हुन् ।

जल्डका रनर क्लब सदस्यहरु तामाङ र शर्माले भारतको प्रसिद्ध तीर्थस्थल केदारनाथसम्म दौडेर यात्रा गर्ने लक्ष्यसहित दौड सुरु गरेका हुन् । उनीहरुले गत अप्रिल ८ तारिखदेखि दौड सुरु गरेर १ हजार ८ सय किलोमिटर दूरी पूरा गर्ने भएका हुन् । उनीहरु शनिबार सिन्धुलीको झनझनेबाट हेटौँडासम्म आइपुगेका हुन् । दुबै जना दैनिक औसत ६० किलोमिटर दौडिरहेका छन् ।

शनिबार हेटौँडामा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै तामाङ र शर्माले आफूहरुले नेपालमा भाषासँगै अन्य सबैजसो पक्ष मिल्ने भएकाले नेपालहुँदै दौडिन सुरु गरेको बताएका छन् । तामाङले भन्नुभयो, ‘अहिले हामीलाई यात्राको क्रममा कुनै असहज भएको छैन । भाषा पनि मिल्ने अनि बाटोमा सबै जनाको माया पाइरहेका छौँ । अहिले घरदेखि टाढा भएको फिल भएको छैन । आफ्नै घरमै छु जस्तो लागिरहेको छ ।’

दुबैजना ४० दिनभित्र केदारनाथ पुग्ने लक्ष्यका साथ दौडिरहेका छन् । आइतबार दौडेर चितवन पुग्ने तामाङले जानकारी दिनुभयो । जल्डका रनर क्लबका सदस्य गोपाल गुरुङले स्वास्थ्यका लागि दौडिनुपर्ने बताउनुभयो । अहिले नेपाल र भारतमा धेरैजसो युवाहरुमा व्यायाम नभएका कारण अस्वस्थ रहेकाले दौडेर स्वस्थ हुनुपर्ने उहाँले बताउनुभयो । दौडेर यात्रा गरिरहेका तामाङ र शर्माको संरक्षकको रुपमा क्लबका सदस्यहरु गुरुङ, लोकेश तामाङ, असिन भुलेज र सुजन राई पनि हेटौँडा आइपुगेका छन् ।