सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ३ जना मृत फेला परेका छन् । प्रदेशको काभ्रेपलाञ्चोक, धादिङ र रामेछाप जिल्लामा एकैदिन ३ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–७, बेइनिङ प्लानको जंगलमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा धुलिखेल नगरपालिका–३, बाँसघारी बस्ने ४२ वर्षीय राजकुमार न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार न्यौपाने भक्तपुर जान्छु भनी घरबाट हिँडेकोमा शुक्रबार बिहान ८ बजेर २० मिनेटको समयमा घाँस काट्न गएको मानिसहरुले जंगलमा मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–८, खानीखोलामा एक जना पुरुषको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेको समयमा त्रिभुवन राजपथको सडक छेउमा नामथर नखुलेको, मागी खाई हिँड्ने अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडांै पठाइएको छ ।

यस्तै, रामेछाप जिल्लाको मन्थली नगरपालिका–४, सिम्लेमा कुवामा डुबिरहेको अवस्थामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा २६ वर्षीय हर्कबहादुर भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार भुजेल देवीथानस्थित कुवामा डुबिरहेको अवस्थामा फेला पारी कुवाबाट बाहिर निकाली हेर्दा मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ ।