हेटौंडाः बैशाख १४ गतेबाट सुरु हुन लागेको कक्षा–१२ को परीक्षा सञ्चालनको विषयमा अभिमुखीकरण कार्यक्रम भएको छ । राष्ट्रिय परीक्षा बोर्डको हेटौंडा शाखाले परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालनबारे शुक्रबार अभिमुखीकरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा भएको अभिमुखीकरण कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको सभाध्यक्षता रहेको थियो । आगामी बैशाख १४ गतेदेखि २६ गतेसम्म हुन लागेको कक्षा–१२ को परीक्षाका लागि मकवानपुर जिल्लाका १९ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम भएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी सेढाईले परीक्षा सञ्चालनको क्रममा अनुगमनको विषयमा फरक तरिकाले योजना बनाइरहेको बताउनुभएको छ । परीक्षा हुनुअघि नै प्रश्नपत्र बाहिरिन सक्ने कुरालाई विशेष प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभयो । कक्षा–१२ को परीक्षा चुनौतीपूर्ण हुने भएकाले परीक्षालाई मर्यादित तरिकाले सम्पन्न गर्ने कार्यमा सबै केन्द्राध्यक्ष लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले सुरक्षाको सन्दर्भमा परीक्षालाई मर्यादित बनाउन पर्याप्त ध्यान दिइने बताउनुभयो । परीक्षा केन्द्रमा प्रहरी परिचालनमा कुनै पनि कमीकमजोरी हुन नदिने उहाँको भनाइ छ । कक्षा–१० को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सुरक्षा व्यवस्था प्रभावकारी बनाएर शान्तिपूर्ण ढंगबाट परीक्षा सम्पन्न गरेको उहाँले बताउनुभयो ।
शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले मापदण्डअनुरुप परीक्षा सञ्चालनका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । परीक्षालाई मर्यादित तथा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नका लागि इकाईबाट आफूले गर्नुपर्ने कामबाट पछि नपर्ने बताउनुभयो ।