हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलको प्रयोगशालाको अनुगमन गर्दै ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले हेटौँडाका निजी विद्यालयको अनुगमन सुरु गरेको छ । विद्यालयको वर्गीकरण गर्ने उद्देश्यले बुधबारबाट अनुगमन गर्न सुरु गरिएको हो । शिक्षा महाशाखाका अधिकृतको नेतृत्वमा जनप्रतिनिधि, प्याव्सन प्रतिनिधिको दुई वटा समूहले बुधबार दुईवटा विद्यालयको अनुगमन गरेको छ । शिक्षा अधिकृत हरिचन्द्र सापकोटा र पुष्करराज विष्टको नेतृत्वमा बुधबार दुईवटा अनुगमन समूह खटिएको हो ।

हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल र हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा निकेतनको अनुगमन गरिएको छ । वर्गीकरणको प्रक्रियामा विद्यालयले तयार पारेको स्वमूल्यांकन फारममै आधारित भएर अनुगमन गरिएको हो । विद्यालय वर्गीकरणका लागि ७० बुँदे सूचक तयार पारिएको छ । हेटौँडा उपमहानगरका ४८ विद्यालयमध्ये करिब १५ वटा विद्यालयले स्वमूल्यांकन फारम समेत भरेका छैनन् ।

वर्गीकरणका क्रममा विद्यालयको पूर्वाधार, विद्यार्थीको सिकाई, टिकाउ दर, उत्तीर्ण दर, शिक्षक, कर्मचारीको अनुपात, वृत्तिविकास, सेवा सुविधा, खानेपानी, शौचालयको सुविधा, प्रयोगशाला, पुस्तकालयको सुविधा, खेल पूर्वाधारलगायतका विद्यालयको बहुपक्षीय मूल्यांकन गरिनेछ । कुल २ सय पूर्णाङ्कको मूल्यांकन गरी ८० प्रतिशत भन्दा माथि अंक प्राप्त गर्ने विद्यालयलाई क वर्गको विद्यालयको रुपमा वर्गीकरण गरिने छ भने ६० देखि ७९.९ प्रतिशत अंक प्राप्त गर्ने विद्यालयलाई ख वर्गमा राखिनेछ । ४० देखि ५९.९ प्रतिशत अंक प्राप्त गर्ने विद्यालयलाई ग वर्गमा राखिने छ भने ४० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने विद्यालयलाई घ वर्गमा राखिने छ ।

विद्यालयको अनुगमन गरी वर्गीकरण गरेपछि निजी विद्यालयको शूल्क निर्धारणको कार्य समेत हुनेछ । विद्यालय वर्गीकरण र शूल्क निर्धारणको प्रक्रिया समयमै पूरा हुन नसकेकोले शिक्षा महाशाखाले निजी विद्यालयलाई अघिल्लो शैक्षिक सत्रअनुसार नै शूल्क लिन समेत सूचित गरेको महाशाखा प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभएको छ । विद्यालयको वर्गीकरण र शूल्क निर्धारणको प्रक्रिया चैत मसान्तसम्ममा सम्पन्न गर्नुपर्नेमा उपमहानगरपालिकाको बेवास्ताले ढिलाई भएको हो । केही दिनमै वर्गीकरणको प्रक्रिया पूरा गरी शूल्क निर्धारणको प्रक्रिया पूरा गरिने महाशाखा प्रमुख कोइरालाले बताउनुभएको छ ।