डा. महेश मास्केलाई पारिजात स्मृति सम्मान प्रदान गरिँदै ।

हेटौँडाः पारिजात स्मृति साहित्य सम्मान २०८० बाट डा. महेश मास्के सम्मानित हुनुभएको छ । ३१औं पारिजात स्मृति दिवसका दिन बुधबार हेटौँडामा डा. मास्केलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको हो । पारिजात स्मृति प्रतिष्ठानका पूर्वअध्यक्ष समेत रहनुभएका डा. महेश मास्केलाई नेपाली साहित्यमा कविता तथा साहित्यिक पत्रकारिताकासँगसँगै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा डा. मास्केलाई सम्मानसँगै रचना वाचन कार्यक्रम समेत भएको छ ।

सम्मान ग्रहण गर्नुभएपछि डा. मास्कले आफुले प्राप्त गरेको नगद राशी बराबरको रकम थप गरेर साहित्य संगम मकवानपुरले स्थापना गरेको अक्षकोषकामा सहयोग गर्ने घोषणा गर्नुभएको छ । पारिजातको योगदानको कदर गरेर यसलाई जोगाउने कार्यमा लागेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँले पारिजातले साहित्य क्षेत्रमा पुर्याउनुभएको योग्दानको चर्चा गर्नुभएको थियो ।

साहित्यकार शान्ति प्रियवन्दनाले पारिजातले वि.सं. २०१३ सालबाट कविता लेख्न सुरु गरेको बताउनुभयो । कवितापछि ११ वटा उपन्यास लेख्न सुरु गरेको प्रियवन्दनाले बताउनुभयो । पारिजात मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला साहित्यकार समेत भएको उहाँले जानकारी दिनुभयो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले सम्मानित व्यक्ति डा. मास्केको विभिन्न माक्र्सवादी र प्रगतिवादी कविता प्रकाशन भएको बताउनुभयो । स्वास्थ्य क्षेत्रको अन्तर्राष्ट्रिय नीतिमा रहेर थुप्रै काम गर्नुभएको बताउनुहुँदै संघ, संस्थामा सहभागिता जनाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले साहित्य क्षेत्रलाई अगाडि बढाउनका लागि छलफल गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बजेटको विषयमा साहित्यसँग सहकार्य नभएको उहाँले बताउनुभयो । साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले पारिजात स्मृतिको अवसरमा २ बर्षको अन्तरालमा साहित्यक क्षेत्रमा योग्दान दिने व्यक्तिलाई सम्मान गर्ने गरेको बताउनुभयो । २ वर्षको अन्तरालमा स्रष्टालाई सम्मान गर्ने गरेकोमा अब हरेक बर्ष सम्मान प्रदान गर्नका लागि वातावरण सिर्जना गर्ने बताउनुभयो । कार्यक्रममा रजनी पौडेल, भवानी तिमल्सिना र जनाद्र्धन खनालले पारिजताका रचना वाचन गर्नुभएको थियो ।