हेटौँडाः मकवानपुरको बागमती गाउँपालिकाले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा बैशाख ३ गते सोमबार प्रकाशन गरेको छ । सबै पालिकामा चैत महिनामा कक्षा–८ को नतिजा प्रकाशन भए पनि बागमती गाउँपालिकामा सोमबारमात्र नतिजा प्रकाशन भएको हो ।

बागमती गाउँपालिकाले कक्षा ८ र ५ को वार्षिक परीक्षालाई पालिकास्तरमा सञ्चालन गरेको र जनशक्तिको अभाबले गर्दा नतिजा प्रकाशनमा ढिलाई भएको शिक्षा शाखाका प्रमुख प्रमोद राईले जानकारी दिनुभयो । गाउँपालिकामा कक्षा–८ सम्म पढाई हुने १५ वटा सामुदायिक विद्यालय रहेको उहाँले जानकारी दिनुभयो ।

कक्षा–८ मा भर्ना भएका ६ सय विद्यार्थीमध्ये पाँच सय ५४ जना विद्यार्थीले परीक्षा फारम भरेको र परीक्षामा पाँच सय ३० जना विद्यार्थी सामेल भएका थिए । परीक्षामा ३ सय ६७ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् भने एक सय ६३ जना विद्यार्थीहरु अनुत्तीर्ण भएका छन् । परीक्षा चैत २ गते शुक्रबारबाट चैत ९ गते शुक्रबारसम्म भएको शिक्षा शाखा प्रमुख राईले जानकारी दिनुभयो ।