हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा ।

हेटौँडाः हेटौँडाका निजी विद्यालयको वर्गीकरणका लागि भोलि बुधबारदेखि उपमहानगरपालिकाले अनुगमन सुरु गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाका अनुसार ३ वटा समूह बनाएर निजी विद्यालयहरुको अनुगमन गरिनेछ । वर्गीकरणका आधारमा नगर शिक्षा समितिले निजी विद्यालयको शूल्क निर्धारण गरिदिनेछ ।

विद्यालय वर्गीकरण र शूल्क निर्धारणको प्रक्रियामा ढिलाई भएका कारण हालका लागि गत शैक्षिक सत्रकै शूल्कका आधारमा विद्यार्थी भर्ना गर्न भनिएको महाशाखा प्रमुख कोइरालाले जानकारी दिनुभएको छ । विद्यालयको अनुगमनका लागि शिक्षा महाशाखाका विद्यालय निरीक्षक, शिक्षा समितिका सदस्य र प्याव्सन प्रतिनिधि गरी तीन सदस्यीय समूह खटिनेछ ।

शिक्षा विकास महाशाखाले विद्यालय वर्गीकरणका लागि ७० बुँदे सूचक तयार पारेको छ । शिक्षा विकास महाशाखाले उपलब्ध गराएको सूचकका आधारमा निजी विद्यालयले स्वमूल्यांकन गरेर फारम बुझाइसकेका छन् । निजी विद्यालयको स्वमूल्यांकन फारमलाई नै आधार बनाएर अनुगमन र मूल्यांकन गरिने बताइएको छ । हेटौँडा उपमहानगरपालिकामा ४८ वटा निजी विद्यालय छन् ।