हेटौँडाः नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापती एवम् बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले देशमा निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस मकवानपुर जिल्ला समितिले हेटौंडामा आयोजना गरेको प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै नेता बानियाँले देशमा प्रत्यक्ष निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचन प्रणाली नै आवश्यक रहेको औँल्याउनुहुँदै उहाँले पछिल्ला दिनमा राजनीतिक घटना साथसाथै पञ्चायत, प्रजातन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, निर्वाचन पछिको बेथिति अन्त्य गर्न निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको दावी गर्नुभयो । नेता बानियाँले वर्तमान निर्वाचन प्रणालीलाई अस्थिरताको मूल जड भएको जीकिर गर्नुभयो । २०८४ सालको निर्वाचन भन्दा अघि निर्वाचन प्रणाली परिवर्तन गरी निर्वाचनलाई प्रत्यक्ष रुपमा लगेर समावेशी समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा भुगोलमैत्री निर्वाचन बनाउन सकिने उहाँँको भनाई छ ।
पछिल्लो समय पार्टीमा उर्जा कम भएको बताउनुहुँदै नेता बानियाँले देशमा चौतर्फीरुपमा नेपाली काँग्रेसलाई आक्रमण भइरहेको बताउनुभयो । कांग्रेस पार्टी आफ्नो पार्टी भित्रको कमि–कमजोरीलाई कानुन बमोजिम कारबाही गर्दा निष्पक्ष रुपमा कार्य गर्दै आएकोले गल्ती गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पछिल्ला बर्षहरुमा पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण न्यून भएकाले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । पार्टीको सांगठनिक अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यले १० बर्षपछि प्रशिक्षण कार्यक्रमको आयोजना भएको उहाँको भनाई छ । प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबारसम्म चल्ने छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गोविन्द पोख्रेल, सुरेश आचार्य, शंकर तिवारी, काँग्रेस बागमती प्रदेश सचिव राजु नेपालले प्रशिक्षण दिनुहुनेछ ।