Home मुख्य समाचार सुस्मिता हत्याकाण्ड, मकवानपुरका अगुवा महिलाको ध्यानाकर्षण

सुस्मिता हत्याकाण्ड, मकवानपुरका अगुवा महिलाको ध्यानाकर्षण

हेटौंडाः हेटौंडा–४, गर्दोईकी सुस्मिता थापाको हत्याको विषयलाई लिएर मंगलबार मकवानपुरका महिला अगुवाले प्रहरीलाई घटनाको सत्यतथ्य छिटो छानविन गर्न आग्रह गरेको छ । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरलाई भेटेर सुस्मिताको हत्याको विषयमा गम्भीर भएर छानविन गर्न र यथाशिघ्र सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको बागमती प्रदेश सभा सदस्य एवम् नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभएको छ ।

सुस्मिताको माइतीबाट आमा, ठूलोबुबासहितको टोलीसँगै जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरीलाई घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न आग्रह गरेको हो । महिला अगुवासँगको भेटमा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले घटनाको अनुसन्धान जारी रहेको र घटनाको सत्यतथ्य केही दिनमै सार्वजनिक गरिने बताउनुभएको नेकपा मकवानपुरकी अध्यक्ष सिग्देलले बताउनुभयो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको सुस्मिताकी नन्दसँगको बयान सकिएको र ससुरासँगको वयान बाँकी रहेको प्रहरीको भनाइ छ ।

मंगलबार जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले पनि प्रहरी प्रमुख राठौरलाई भेटेर घटनाका बारेमा ध्यानाकर्षण गराउनुभएको छ ।

Exit mobile version