Home खेलकुद प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्नः ६१ स्वर्णसहित बागमती प्रदेशले जित्यो...

प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्नः ६१ स्वर्णसहित बागमती प्रदेशले जित्यो उपाधि

हेटौंडाः प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हेटौंडामा सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिकाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिता आइतबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सम्पन्न भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य तथा बागमती प्रदेशको सामाजिक विकासमन्त्री एवम् प्रदेश खेलकुद विकास परिषद्की अध्यक्ष कुमारी मोक्तानको सभाध्यक्षतामा समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो । पुरस्कार वितरण कार्यक्रममा आन्तिरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, कृषि तथा पशुपछी विकासमन्त्री राजेन्द्रमान श्रेष्ठ र प्रदेश खेलकुद विकास परिष्दका सदस्यसचिव सूर्यलाल भण्डारीको पनि आतिथ्य रहेको थियो ।

विभिन्न ९ वटा खेल विधामा प्रतिस्पर्धा भएको प्रतियोगितामा बागमती प्रदेशले ६१ वटा स्वर्ण, ४३ वटा रजत र ३६ वटा कास्यगरी १ सय ४० वटा पदक प्राप्त गर्दै उपाधि जित्न सफल भएको छ । २१ वटा स्वर्ण, २१ वट रजत र २९ वटा कास्य गरी ७१ वटा पदक प्राप्त गर्दै सुदूरपश्चिम प्रदेश द्वितीय भएको छ भने १६ वटा स्वर्ण, २३ वटा रजत र ३६ वटा कास्य गरी ७५ वटा पदक प्राप्त गर्दै कोशी प्रदेश तृतीय भएको छ ।

११ वटा स्वर्ण, १८ वटा रजत र २० वटा कास्यगरी ४९ पदक प्राप्त गरेको गण्डकी प्रदेश तालिकाको चौथो स्थानमा परेको छ । यस्तै, ११ वटा स्वर्ण, १६ वटा रजत र २८ वटा कास्य गरी ५५ वटा पदक प्राप्त गरेको लुम्बिनी प्रदेश तालिकाको पाँचौँ स्थानमा रहेको छ भने ११ वटा स्वर्ण, १० वटा रजत र २४ वटा कास्य गरी ४५ वटा पदक प्राप्त गर्दै कर्णाली प्रदेश छैटौं भएको छ । ३ वटा स्वर्ण, ३ वटै रजत र १५ वटा कास्य गरी २१ वटा पदक प्राप्त गरेको मधेश प्रदेश तालिकाको पुच्छारमा परेको छ ।

प्रतियोगिताअन्तर्गत् महिला क्रिकेटमा सुुदूरपश्चिम प्रदेशले स्वर्ण जित्दा कोशी प्रदेशले रजत पदकमा चित्त बुझाउनु परेको छ । पुरुष क्रिकेटमा गण्डकी प्रदेशले स्वर्ण प्राप्त गर्दा मधेश प्रदेशले रजत पदक प्राप्त गरेको छ । महिला भलिबलमा बागमतीले स्वर्ण पदक प्राप्त गर्दा गण्डकी प्रदेशले रजत पदक प्राप्त गरेको छ । यस्तै, पुरुष भलिबलमा गण्डकी प्रदेशले स्वर्ण जित्दा कोशीले रजत पदक प्राप्त गरेको छ भने सुदूरपश्चिमले कास्य पदकमा चित्त बुझाउनुपरेको छ ।

बक्सिङमा बागमतीले ९ वटा स्वर्ण, ६ वटा रजत र ६ वटै कास्य गरी २१ वटा पदक जितेको छ भने गण्डकी प्रदेशले ५ वटा स्वर्ण, ३ वटा रजत र ६ वटा कास्य गरी १४ वटा पदक प्राप्त गरेको छ । कर्णाली प्रदेशले ४ वटा स्वर्ण, २ वटा रजत र ७ वटा कास्य गरी १३ वटा पदक प्राप्त गरेको छ । सुदूरपश्चिमले ३ वटा स्वर्ण, १ वटा रजत र ६ वटा कास्य गरी १० वटा पदक प्राप्त गरेको हो । कोशीले २ वटा स्वर्ण, ५ वटा रजत र ६ वटा कास्य गरी १३ वटा पदक जित्दा स्वर्णविहीन भएको लुम्बिनीले ६ वटा रजत र ५ वटा कास्य गरी ११ वटा पदक जितेको थियो । बक्सिङमा स्वर्ण र रजत पदकविहीन बनेको मधेश प्रदेशले ५ वटा कास्यमा चित्त बुझाएको छ ।

यस्तै, कराँतेमा ९ वटा स्वर्ण, ३ वटा रजत र ४ वटा कास्य पदक बागमतीले जित्दा लुम्बिनीले ४ वटा स्वर्ण, ३ वटा रजत र २ वटा कास्य पदकमा सिमित बन्नुपरेको छ । सुदूरपश्चिम प्रदेशले ३ वटा स्वर्ण, २ वटा रजत र ५ वटा कास्य पदक प्राप्त गरेको छ भने कोशी प्रदेशले १ वटा स्वर्ण, १ वटा रजत र ६ वटा कास्यपदकमै सिमित भएको हो । स्वर्णबिहीन भएको मधेश प्रदेश १ रजत र ७ वटा कास्य पदक एवम् गण्डकी १ रजत र ५ वटा कास्य पदक प्राप्त ग रेको छ ।

तेक्वान्दोतर्फ पनि बागमतीले ७ वटा स्वर्ण, ४ वटा रजत र ९ वटा कास्य गरी २० पदकसहित प्रथम भएको छ । सुदूरपश्चिम प्रदेशले ५ वटा स्वर्ण, ३ वटा रजत र २ वटा कास्य पदक प्राप्त गर्दै द्वितीय हुँदा कोशीले ५ स्वर्ण, २ वटा रजत र ६ वटा कास्य पदक प्राप्त गर्दै तृतीय भएको हो । लुम्बिनीले ३ वटा स्वर्ण, १ वटा रजत र ११ वटा कास्य पदक प्राप्त गर्दै चौथो भएको छ । कर्णालीले १ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक प्राप्त गरेको छ भने गण्डकीले ९ वटा रजत र ४ वटा कास्य पदकमा चित्त बुझाउनुपरेको छ ।

एथ्लेटिक्समा बागमतीले ७ वटा स्वर्ण, ७ वटै रजत र ८ वटा कास्य पदक गरी २२ पदक प्राप्त गर्दै प्रथम भएको छ भने सुदूरपश्चिम प्रदेशले ५ वटा स्वर्ण, ३ वटा रजत र २ वटा कास्य पदक प्राप्त गर्दै द्वितीय भएको छ । कोशीले ५ वटा स्वर्ण, २ वटा रजत र ६ वटा कास्यपदक प्राप्त गर्दा लुम्बिनीले ३ वटा स्वर्ण १ रजत र ११ वटा कास्य पदक प्राप्त गरेको छ । कर्णालीले १ स्वर्ण, २ रजत र ३ वटा कास्य पदक प्राप्त गरेको छ । स्वर्णविहीन बनेको गण्डकीले ९ रजत र ४ वटा कास्य पदक प्राप्त गरेको हो भने मधेश प्रदेशले ३ वटा कास्य पदकमात्र प्राप्त गरेको हो ।

पौडीमा बागमतीले २७ वटा स्वर्ण, १९ रजत र ७ कास्य पदक प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशले ३ वटा स्वर्ण, ८ वटा रजत र ७ वटा कास्य पदक प्राप्त गरेको हो भने स्वर्णविहीन बन्दै लुम्बिनीले ३ वटा रजत प्राप्त गरेको छ । कोशीले ३ रजत र १३ कास्य पदक प्राप्त गरेको हो । कर्णाली, गण्डकी र मधेश प्रदेश पदकबिहीन भएको छ ।

ब्याडमिन्टनमा कोशीले ४ वटा स्वर्ण, १ वटा रजत र ३ वटा कास्य पदक प्राप्त गरेको हो भने गण्डकीले २ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक प्राप्त गरेको हो । बागमतीले १ वटा स्वर्ण, ३ वटा रजत र २ वटा कास्य पदक प्राप्त गर्दा कर्णाली स्वर्णबिहीन हुँदै १ वटा रजत र २ वटा कास्य पदक प्राप्त गरेको छ । सुदूरपश्चिम ७ वटा कास्यपदकमा नै सिमित छ ।

पुरुष फुटबलमा कोशीलाई स्वर्ण

हेटौंडाः प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फ कोशी प्रदेशले स्वर्ण जितेको छ । आइतबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सम्पन्न भएको फाइनल खेलमा बागमती प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कोशी प्रदेशले स्वर्ण पदक जित्न सफल भएको हो ।

कोशी प्रदेशको जितमा खेलको दोस्रो हाफमा निखिल तामाङले निर्णायक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच कोशीका निर्णायक गोलकर्ता तामाङ घोषित भएका छन् । उनले ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा स्वर्ण जित्न सफल कोशीको टिमले प्रतिव्यक्ति ५ हजार रुपैयाँ र रजत विजेता बागमतीले ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पुरस्कार प्रदान गर्नुभएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी कोशी प्रदेशका बसन्त ओझा घोषित भएका छन् ।

उत्कृष्ट फरवार्ड बागमतीका राज थोकर, उत्कृष्ट मिडफिल्डर कोशीका कमल खवास, उत्कृष्ट डिफेन्डर बागमतीका रोशन दोङ, उत्कृष्ट गोलरक्षक कोशीका विजयकुमार र उत्कृष्ट प्रशिक्षक कोशीका प्रकाश मल्ल घोषित भएका छन् । प्रतियोगितामा ७ वटा प्रदेशको टिमको सहभागिता रहेको थियो ।

यसअघि सेमिफाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोल अन्तरले हराउँदै कोशी प्रदेशले फाइनलको यात्रा पूरा गरेको थियो । यस्तै, बागमती प्रदेशले कर्णाली प्रदेशलाई टाइब्रेकरमा ६–५ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

Exit mobile version