हेटौँडाः बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोग तथा हेडम्बा डेभलपमेन्ट एडभाइजर फाउण्डेशनको आयोजानामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुरमा सञ्चालित थोरै लगानीमा गर्न सकिने साना व्यवसाय प्रवद्र्धनका लागि ७ दिने उद्यमशीलता तथा सीप विकास तालिम सम्पन्न भएको छ ।
हेडम्बा डेभलपमेन्ट एडभाइजर फाउण्डेशनका अध्यक्ष अनन्त कुमार बानियाँको अध्यक्षता तथा प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यमा शुक्रबार समापन समारोह भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष नरनाथ सुवेदीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका सदस्य अन्जु पण्डित, जनजागरण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष देवेन्द्र अर्यालको पनि आतिथ्य रहेको थियो ।
सात दिनसम्म सञ्चालन गरिएको तालिममा आठ जना प्रशिक्षकहरुले व्यवसायको अर्थ तथा परिभाषा स्व–विश्लेषण/मुल्यांकन र पृष्ठपोषणको आवश्यकता र महत्व, सफल उद्यमीका विशेषताहरु, व्यवसायिक योजनाको अर्थ, आवश्यकता र महत्व, व्यवसायिक योजना, उत्पादन योजना, स्व–रोजगार र ज्यालादारी काममा भिन्नता, व्यवसायमा जोखिम तथा जोखिम व्यवस्थापनका, व्यवसाय दर्ता प्रक्रिया तथा सरकारी नीति, नियम लगायतका विषयमा सहजीकरण गर्नुका साथै चटपटे, पानीपुरी, मम, चाउमिन बनाउने तालिम तथा अभ्यासात्मक क्रियाकलाप गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सन्तोष चौलागाईले इच्छाशक्ति लगाएर मिहिनेतका साथ व्यवसाय सुरु गर्ने साना व्यवसायीहरुका लागि सहयोग गर्न प्रदेश युवा परिषद् प्रतिवद्ध रहेको बताउनुभयो । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष नरनाथ सुवेदीले तालिम पश्चात सिकेको सीप अनुसार नै व्यवसाय सुरु गर्न र लिएको प्रमाणपत्रको कदर गर्न अनुरोध गर्नुभयो । तालिममा अनन्त बानियाँ, जिल्ला कृषि सहकारी संघका नरेश आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका लेखमान राउत, सुनिल राई, राकेश शाह, सञ्चारकर्मी, प्राध्यापक सुरेश श्रेष्ठ लगायत प्रशिक्षकहरुले सहजीकरण गरेका थिए ।