रजत महोत्सवको अवसरमा सम्मानित संस्थापकहरु ।

हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत महोत्सव मनाएको छ । रजत महोत्सवको अवसरमा बुधबार सहकारीका ४९ जना संस्थापक सदस्यलाई सम्मान गर्नुका साथै स्मारिका विमोचन गरेको छ । सहकारीकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारको खानेपानी, सिचाई तथा उर्जा मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यमा रजत महोत्सव समारोह भएको हो ।

रजत महोत्सवको अवसरमा १६ जना सहकारी अभियन्तासहित पत्रकार, पुराना कर्मचारी, ज्येष्ठ सदस्य, बाल सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । ३ हजार २ सय ५० जना सेयर सदस्य रहेको सहकारीको २ करोड रुपैयाँ सेयर पुँजी रहेको छ । १५ करोड रुपैयाँ बचत संकलन गरेको सहकारीले १२ करोड ८६ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।