विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै वडा अध्यक्ष सुनिल मोक्तान ।

हेटौँडाः हेटौँडा–१५, रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को २४ औं अभिभावक भेला बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर लोको अध्यक्षता तथा वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो ।

अभिभावक भेलाको अवसरमा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षाको नतीजा समेत सार्वजनिक गरिएको छ । वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थी, अनुशासित, नियमित विद्यालय आउने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । यस वर्ष १० कक्षासम्म ३ सय २४ जना परीक्षामा सहभागी भएको प्रधानाध्यापक केशवप्रसाद सञ्जेलले जानकारी दिनुभएको छ । अभिभावक भेलाको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरिबहादुर मोक्तानलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । सेवानिवृत्त शिक्षक हिरालाल तामाङलाई पनि सम्मान गर्ने कार्यक्रम भए पनि तामाङ कार्यक्रममा उपस्थित हुनुभएन ।

अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष मोक्तानले विद्यालयमा अभिभावकले ध्यान दिनुपर्ने बताउनुभयो । विद्यालयको भौतिक एवम् शैक्षिक सुधारका लागि वडाको तर्फबाट गर्नुपर्ने काम आफूले गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै वडा अध्यक्ष मोक्तानले सरोकारवाला सबैको चासो भए विद्यालयको सुधार तीव्र गतिमा हुने बताउनुभयो । अभिभावक भेलामा प्रधानाध्यापक केशवप्रसाद सञ्जेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयप्रति सामान्य अभिभावकको धारणा राम्रो भए पनि आर्थिकरुपले सम्पन्न अभिभावकको बेवास्ताले विद्यालयमा अपेक्षित सुधार गर्न नसकिएको बताउनुभयो । विद्यालयमा सक्षम शिक्षक रहेको, वडाध्यक्ष सहयोगी रहेकोले सकारात्मक सुधारका लागि उपयुक्त वातावरण रहेको दावी गर्नुभएको छ ।