कार्यक्रमको उद्घाटन गर्नुहुँदै सामाजिक विकासमन्त्री कुमारी मोक्तान ।

हेटौंडाः बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले लैंगिक हिंसा न्यूनीकरणका लागि गाउँ तहसम्म सचेतनाका कार्यक्रमहरु अभियानकै रुपमा चलाउनुपर्ने बताउनुभएको छ । मंगलबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको व्यवस्थापनमा भएको सचेतनामूलक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अझै पनि गाउँगाउँमा सचेतना नभएका कारण महिलाहरु लैंगिक हिंसामा परिरहेको उहाँले बताउनुभयो । उहाँले अहिले गाउँमा मात्र नभई सहरमा पनि अदृश्यरुपमा लैंगिक हिंसाका समस्या महिलाहरुले भोग्नुपरिरहेको उहाँको भनाइ छ । उहाँले पराम्परागत संस्कारहरुले महिला हिंसाबाट पीडित हुन परिरहेको उहाँले बताउनुभयो । उहाँले आफ्नो अधिकारमाथि हस्तक्षेप हुन दिन नहुने पनि बताउनुभयो । उहाँले हिंसा नहुन आफैं सचेत हुनुपर्ने र अरुलाई पनि सचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले लैंगिक हिंसाको अन्त्य गर्न पुरुषलाई पनि सचेतना गराउनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले अहिले पनि पुरुषले महिलाको तुलनामा समाजमा स्वतन्त्रता पाएको बताउनुभयो । यसले गर्दा पनि महिला घरभित्रै दवावमा बस्नुपर्ने अवस्था भएको र हिंसा हुने गरेको उहाँले बताउनुभयो । उहाँले अहिले समाजमा महिला र पुरुषका लागि समानता र समतामूलक समाज हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यसपछि मात्र महिला र पुरुषले समान अधिकारको प्रत्याभूति हुने उहाँको भनाइ छ ।

कार्यक्रममा जिल्ला वार एसोसिएसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेत, माइती नेपाल मकवानपुरकी संयोजक माया लामा र जिल्ला प्रहरी कार्यालय मकवानपुरकी महिला तथा जेष्ठ नागरिक सहायता इकाई प्रमुख प्रहरी सहायक निरीक्षक संगीता लामाले सहजीकरण गर्नुभएको छ । सहभागीहरुलाई जिल्ला वारकी अध्यक्ष बस्नेतले लैंगिक हिंसा र कानुनी व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । प्रहरी सहायक निरीक्षक लामाले चालु आर्थिक वर्षको फागुनसम्म जिल्ला प्रहरी कार्यालयमा १ सय ८८ वटा घरेलु हिंसाका घटनामा उजुरी परेको र १ सय १४ जनाको मिलापत्र भएको बताउनुभयो । यस्तै, ५० वटा मुद्दा अदालतमा पुगेको छ । उहाँले महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दर्ता हुनुका कारण चेतनामा वृद्धि भएका कारण, सामाजिक सञ्जालको दुरुपयोग र अशिक्षाजस्ता प्रमुख कारण रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यहरु खड्कबहादुर पुलामी, वीरेन्द्रकुमार लामा, सुवर्ण गोपाली, तारा ढुङ्गाना, सुमित्रा थिङ, विष्णुमाया थपलिया, सुनिता दर्नाल र ग्रामीण महिला सेवा केन्द्र मकवानपुरकी अध्यक्ष सुलोचना स्याङ्तानलगायतको उपस्थिति रहेको थियो ।