हेटौँडाः हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयको नयाँ शैक्षिक भवन निर्माण कार्य सुरु भएको छ । ३ तल्लाको १२ कोठे भवन निर्माण कार्यको सुरुवातस्वरुप बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिचाई मन्त्री एका लाल श्रेष्ठले मंगलबार बिहान सिलान्यास गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिका र वडा कार्यालयको संयुक्त लगानीमा १ करोड ६२ लाख २१ हजार रुपैयाँमा निर्माण सम्झौता भएको छ ।
मकवानपुरकै आर एन निहारिका जेभीले निर्माणसम्बन्धी ठेक्का सम्झौता गरेको छ । २०८१ साल पुस १९ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । कक्षाकोठाको अभाव तथा भएका कक्षाकोठा पनि जीर्ण भइरहेको सन्दर्भमा स्थानीय सरकारको लगानीमा भवन निर्माण लागेको हो । सामुदायिक विद्यालयमा सर्वसाधारणको चासो बढ्दै गएको सन्दर्भमा वडा र पालिकाको संयुक्त लगानीमा भवन निर्माण कार्य सुरु गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष फुर्वा दोर्जे लामा, वडा सदस्यहरु गोमा सुनुवार, साधना श्रेष्ठ, ईश्वर मैनाली, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ईन्द्रप्रसाद नेपाल, रामकुमार विष्ट, शिक्षक, कर्मचारी, पूर्वविद्यार्थीको पनि उपस्थिति रहेको थियो । १० कक्षासम्म पठनपाठन नहुने विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक रमेश प्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।
मावि तहसम्म पठनपाठन हुने वडाको एक मात्रै सरकारी विद्यालयको रुपमा रहेको ज्ञानदा माविको सुधारमा वडाले सक्दो प्रयास गर्ने वडाअध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिनुभएको छ । शैक्षिक गुणस्तर सुधारका लागि वडाले समितिनै बनाएर काम गरिरहेको वडाध्यक्ष लामाले स्पष्ट पार्नुभयो ।