गुगल तस्विर ।

हेटौँडाः विभिन्न घटनामा एकै दिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, धादिङ, सिन्धुपाल्चोक र सिन्धुलीमा एकै दिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–१, ज्यानमालामा बादबिबादका कारण झै–झगडा हुँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५ वर्षीय चन्द्र बहादुर चेपाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती ३५ वर्षीय चन्द्र बहादुर चेपाङ र ३० वर्षीय लोक बहादुर चेपाङ बिच बादबिबादका कारण झै–झगडा हुँदा चन्द्र बहादुरको घटना स्थलमै मृत्यु भएको थियो । मुचुल्का पश्चात पोष्टमार्टमका लागि सरकारी अस्पताल भरतपुर लगिएको प्रहरलिे जानकारी दिएको छ ।

यस्तै, धादिङ जिल्लाको गल्छी–२, मा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा थाक्रे गाउँपालिका–३, बेशीमलडुङ बस्ने ४१ वर्षीय कृष्ण अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । अधिकारी गत बिहीबार देखी हराएकोमा निजको परिवारले सोमबार प्रहरी चौकी महादेवबेशीमा हुलिया सहितको निवेदन समेत दिएकोमा मंगलबार बिहान ८ बजेर ४५ मिनेटको समयमा त्रिशुली नदीको किनारमा घोप्टो अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको छ ।

यस्तै, सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका–१, ब्यार्सामा जगलमा पत्कर सोह्रने क्रममा लडि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय लाल बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ ६ बजेको समयमा तामाङ घर नजिकैको जंगलमा पत्कर सोह्रने क्रममा लडी घाईते भएका थिए । घाइते तामाङलाई उपचारको लागि टिचिङ अस्पताल काठमाण्डौमा लगिएकोमा उपचारको क्रममा मंगलबार दिउँसो ४ बजेको समयमा मत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुली जिल्लाको दुधौली नगरपालिका–८, कछुवाखाडीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा दुधौली नगरपालिका–९, का ३५ वर्षीय राजु परियार रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार परियार दुधौली खोलामा जमेको पानीको दहमा पुरुष व्यक्ति डुबी मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात पोष्टमार्टमका लागि नगर अस्पताल दुधौली लगिएको छ ।