हेटौँडाः गत शनिबार ४ नम्बर वडामा रहेका सामुदायिक र निजी दुबै विद्यालयमा प्रारम्भिक बालविकास कक्षाका शिक्षकहरुका लागि श्रमिक माविमा आयोजित तीनदिने शैक्षिक सामग्री निर्माण तथा खेलको माध्यमद्वारा सिकाईसम्बन्धी तीनदिने तालिमको समापन कार्यक्रममा सहभागी अधिकांश शिक्षकको प्रतिक्रिया थियो, “हामीलाई तालिम लिनै पुगेको छैन ।” सहभागी शिक्षक भन्दै थिए, “हामीलाई तीन दिन सिकेको कुरा पर्याप्त भयो भन्ने लागेको छैन । अझ धेरै सिक्नुपर्छ भन्ने लागेको छ ।”
नयाँ शैक्षिक सत्रको तयारीस्वरुप वडा कार्यालयले वडामा रहेका सामुदायिक र निजी दुबै विद्यालयका शिक्षकको सहभागितामा भएको तालिममा सहभागी शिक्षकले तालिम पुगेको छैन भन्ने भनाईले दुईवटा पक्षलाई इंगित गर्दछ । पहिलो निजी र सामुदायिक दुबै विद्यालयमा अध्यापनरत शिक्षकहरु विद्यार्थीलाई सिकाउन आफू पनि धेरै ज्ञान हासिल गर्न प्रेरित छन् । दोस्रो हाम्रा शिक्षकहरु सक्षम छैनन् । उनीहरुलाई अझ धेरै सक्षमताका लागि काम गर्नुपर्ने छ । वडा कार्यालयको प्रयासमा शिक्षकहरुको सक्रिय सहभागिता र आगामी शैक्षिक सत्रका लागि तयारी सराहनीय छ ।
तालिमकी सहजकर्ता जमुना थापाले तालिममा सहभागी शिक्षकहरुको सक्रियता र अनुभव आदानप्रदानले आफूहरुले समेत धेरै कुरा सिक्ने अवसर मिलेको बताउनुभयो । सहभागीको सक्रियताले छोटो अवधिमा पनि धेरै शैक्षिक सामग्री तयार पार्न र शैक्षिक क्रियाकलापको अभ्यास गर्न सफल भएको थापाले स्पष्ट पार्नुभयो । नवोदय शिशु सदनकी शिक्षक दीपा अर्यालले शैक्षिक सामग्रीको प्रयोगको सन्दर्भमा वडाका अन्य विद्यालयमा कमजोर अवस्था रहेको बताउनुभयो । “हामीले धेरै अघिदेखि नै शैक्षिक सामग्रीको प्रयोग गरेर क्रियाकलापमा आधारित शिक्षण अभ्यास गर्दै आएका थियौं । अन्य विद्यालयमा पनि हामीले गरेजस्तै अभ्यास भइरहेको होला भन्ने ठानेका थियौं । तालिममा सहभागी हुँदै गर्दा सबैतिर हामीले गरेको जस्तो अभ्यास विस्तार भइसकेको रहेनछ ।”
ब्रह्मदिक् एकेडेमीकी शिक्षक निर्मला चौलागाईले आफू पहिलो पटक यस किसिमको तालिममा सहभागी भएको उल्लेख गर्नुहुँदै यस किसिमको तालिम जरुरी रहेको बताउनुभयो । चौलागाईले शैक्षिक क्रियाकलाप र शैक्षिक सामग्री निर्माणको विषयमा सिक्न आफूले युट्युवको सहयोग लिने गरेको उल्लेख गर्नुभएको छ । श्रमिक माविकी निला सापकोटाले पहिले सिकेका कुरालाई पनि पुनर्ताजगी गर्ने अवसर मिलेको र सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्ने बताउनुभयो । रोज एकेडेमीकी शिक्षक अंशु जोशीले एउटै वडाका विद्यालयका शिक्षकहरुबीच परिचित हुने अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गर्नुभयो । परिचित भएर आपसमा अनुभव आदानप्रदान गर्न पाउँदा पनि धेरै सिकाई र सहजता भएको जोशीको भनाइ थियो ।
वडा शैक्षिक गुणस्तर सुधार समितिका सचिव रामसागर गुरागाईको अध्यक्षता तथा बागमती प्रदेश सरकारको पूर्वराज्य मन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा तालिमको समापन समारोह भएको थियो । कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलको पनि आतिथ्य रहेको थियो । वडाध्यक्ष सिग्देलले वडामा रहेका सबै विद्यालयका शिक्षकहरुको सहभागितामा गठन गरिएको शैक्षिक गुणस्तर सुधार समितिको सक्रियतामा वडाको शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।