हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका विभिन्न १२ वटा विद्यालयका प्रधानाध्यापकले चालु शैक्षिक सत्रको उपलब्धी र सिकाई एवम् आगामी शैक्षिक सत्रको योजनाका बारेमा प्रस्तुती गरेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियानको आयोजना तथा समृद्ध समाज दैनिक, रुहेल सिआरसी र इस्थर बेञ्जामिन स्मृति संस्थाको समन्वयमा आइतबार प्रधानाध्यापकका उपलब्धी र योजनाको विषयमा प्रस्तुतीकरण कार्यक्रम भएको हो । कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले प्रधानाध्यापकका प्रस्तुतीलाई अवलोकन गरेका थिए ।

चालु शैक्षिक सत्रको अन्तिम समय र आगामी शैक्षिक सत्रको सुरुवात हुनै लाग्दा प्रधानाध्यापकका योजनाको प्रस्तुतीले सरोकारवालालाई योजनाबारे जानकारी हुने र एउटै मञ्चमा प्रधानाध्यापकको प्रस्तुतीले एकअर्कामा सिकाईको अवसर रहने अपेक्षा आयोजकको रहेको थियो । कार्यक्रममा हेटौँडा–१ स्थित अमर माविकी प्रधानाध्यापक मालती उप्रेती, हेटौँडा–२ स्थित सिद्धार्थ माविका प्रधानाध्यापक परमानन्द सरोज कर्ण, हेटौँडा–४ स्थित श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाई, भुटनदेवी मावि माविका सहायक प्रधानाध्यापक वेदराज कोइराला, हेटौँडा–६ स्थित बालजागृति युवाबर्ष माविकी प्रधानाध्यापक सम्झना अधिकारी, हेटौँडा–७, नागस्वतीस्थित नवज्योति माविका प्रधानाध्यापक ज्ञानेन्द्र दाहालले प्रस्तुती राख्नुभएको थियो ।

यस्तै हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माविका प्रधानाध्यापक जीधराज ढकाल, हेटौँडा–१३, पदमपोखरीस्थित महेन्द्र माविका प्रधानाध्यापक विष्णु श्रेष्ठ, हेटौँडा–१४, मयुरधापस्थित जनज्योति माविका प्रधानाध्यापक भोगेन्द्र लुइटेल, हेटौँडा–१५, रातोमाटेस्थित जनजागृति माविका प्रधानाध्यापक केशवप्रसाद सञ्जेल, हेटौँडा–१६, हटियास्थित जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले चालु शैक्षिक सत्रका योजना, उपलब्धी, सिकाईसँगै आगामी शैक्षिक सत्रको योजना र चुनौतिका विषयमा प्रस्तुती राख्नुभएको थियो ।

प्रधानाध्यापकको प्रस्तुतीलाई हेर्न, सुन्न, बुझ्न जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइराला, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख सीताराम कोइराला, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवाल, हेटौँडा क्याम्पसका प्रमुख देवीराम लामा, हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिप्रसाद शर्मा, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुब अधिकारीको आतिथ्य रहेको थियो ।

प्रधानाध्यापकको प्रस्तुतीपछि वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले टिप्पणी गर्नुभएको थियो । विद्यालयको लक्ष्य र उद्देश्य निर्धारण गरेर काम गर्नुपर्ने सुझाव दिनुहुँदै प्रधानाध्यापकका प्रस्तुतीअनुसार विद्यालयमा क्रियाकलाप भइरहेको हो भने हेटौँडाको शैक्षिक अवस्था राम्रो रहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक एवम् प्रशासनिक सुधारकर्ताको रुपमा स्थापित गर्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले माध्यमिक तहका विद्यालयले फिडर विद्यालयको शैक्षिक सुधारमा पनि सहयोग गर्नुपर्ने बताउनुभयो । सीसी क्यामरा जडान गर्दैमा, अंग्रेजी माध्यममा पठनपाठन हुँदैमा विद्यालयको शैक्षिक सुधार भएको मान्न नमिल्ने उहाँको भनाइ थियो । कार्यक्रममा योजना प्रस्तुत गर्ने प्रधानाध्यापकलाई मायाको चिनोस्वरुप विद्यालय शिक्षा, बालमनोविज्ञानसँग सम्बन्धित पुस्तक प्रदान गरिएको थियो । इस्थर बेञ्जामिन स्मृति संस्थाका संयोजक बुद्धवीर लामाले प्रधानाध्यापकका योजनाको प्रस्तुती कार्यक्रमले आपसी सहकार्यको अवसर सिर्जना गर्ने विश्वास लिएको बताउनुभयो ।