हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा एकदिने पशुस्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा शुक्रबार वडा नम्बर २ मा र शनिबार वडा नम्बर ३ मा शिविर सञ्चालन भएको छ । कोरोना महामारीको समयमा पशुहरुको स्वास्थ्य सुरक्षाका लागि शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखाका प्राविधिक अजय बर्तौलाले बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर २ को कुदुले, वडा नम्बर ३ को लावती र कोरङ्तीमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा ५०० जना कृषकले आफ्ना पशुवस्तुको स्वास्थ्य परीक्षण गराएर आवश्यक उपचार तथा औषधी सुविधा लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा पिपिआर खोप लगाउनुका साथै पशुवस्तुमा नाम्ले, रुघा–खोकी, ज्वरो परीक्षण गरेर भिटामिनयुक्त क्याप्सुलहरु वितरण गरिएको बर्तौलाले बताउनुभएको छ । चालु आर्थिक वर्षमा शिविर सञ्चालनको कार्यक्रम सकिएको जानकारी दिनुहुँदै प्राविधिक बर्तौलाले भन्नुभयो, ‘पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत शिविरको कार्यक्रम आगामी आर्थिक वर्षमा पनि समावेश गरिने छ ।’ त्यसैगरी गाउँपालिकाले व्यावसायिक पशुपालनका लागि बाख्रा खोर सुधार कार्यक्रम, भकारो सुधार कार्यक्रम, वोयर बोका वितरण जस्ता कार्यक्रम सञ्चालन गरिएको प्राविधिक अजय बर्तौलाले बताउनुभयो ।