हेटौँडाः ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहिबार हेटौँडामा सहकारीका पदाधिकारीलाई अभिमुखीकरण तथा बहस कार्यक्रम भएको छ । सहकारी दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष, व्यवस्थापक र ऋण समितिका संयोजकको सहभागिता रहेको थियो ।
मूल समारोह समितिका संयोजक एवम् जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षता तथा बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । पहिलो चरणमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको सदस्य सेवा महाशाखाका बल्लभ तिमल्सिनाले ऋण लगानी तथा असुलीमा कानुनी प्रावधान र सरोकारवालाको भूमिका विषयक अभिमुखीकरण गराउनुभएको थियो ।
दोस्रो चरणमा बहसको आयोजना गरिएको थियो । पत्रकार सुुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको बहसमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई, बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी महाशाखाका कानुन अधिकृत मनोज गुप्ता, मालपोत कार्यालय मकवानपुरका अधिकृत भीम परियार, हेटौँडा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडका अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको सहभागिता रहेको थियो ।
पछिल्लो समय सहकारीको ऋण असुलीमा समस्या भइरहेको र ऋणको साँवा, व्याज असुलउपर गर्न सरोकारवालाको सहयोग जरुरी रहेको सहभागीको भनाइ थियो । बहसमा सहभागीले सहकारीको नीति, विधि र सिद्धान्तअनुसार सञ्चालित हुन आवश्यक रहेको उल्लेख गरेका थिए । धनजमानीमा गरिएका लगानीहरु जोखिममा रहेको उल्लेख गर्दै सञ्चालकहरुको इमानदारिता र सतर्कता जरुरी रहेको औँल्याइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले लेखा परीक्षण नै गलत तयार पारिनु, ऋण समितिले लगानीको जोखिम थाहा हुँदा हुँदै पनि ऋण लगानी गर्नु जोखिमका कारण भएको बताउनुभयो ।