कञ्चन लामा÷भिजन न्यौपाने कक्षा–६÷कक्षा–७ सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कूल, हेटौँडा–४

यतिबेला सामुदायिक विद्यालयका विद्यार्थीहरु वार्षिक परीक्षामा सहभागी भइरहेका छन् भने निजी विद्यालयका विद्यार्थीहरु वार्षिक परीक्षाको तयारीमा छन् । हाम्रो शिक्षा प्रणालीमा विद्यार्थीले परीक्षा केन्द्रित अध्ययन गर्र्छन् । परीक्षा उत्तीर्ण गर्नका लागि पढ्नुपर्ने बुझाई आम मानिसमा छ । परीक्षामा राम्रो अंक ल्याउनु नै विद्यार्थी, अभिभावक, शिक्षक, समाजको अपेक्षाकै कारण परीक्षा एक हिसाबले भयानक अभ्यास जस्तै रहन्छ विद्यार्थीका लागि । विद्यालयको नियमित पठनपाठन र परीक्षाको विषयमा केन्द्रित रहेर समृद्ध समाज दैनिकका लागि सुप्रभा शर्माले हेटौँडा–४ स्थित सत्यम जेभियर्स इंग्लिस सेकेण्डरी स्कूलमा कक्षा ६ मा अध्ययनरत कञ्चन लामा र कक्षा ७ मा अध्ययनरत भिजन न्यैपानेसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः अब वार्षिक परीक्षा पनि नजिकिँदै छ । कहिलेदेखि विद्यालयमा परीक्षा सुरु हुँदैछ ? कस्तो तयारी हुँदैछ ?
लामाः
हाम्रो वार्षिक परीक्षा चैत १५ गतेदेखि सुरु हुँदैछ । मलाई उच्च अंक ल्याउनु छ । त्यसैले पनि मेरो तयारी एकदमै राम्ररी चलिरहेको छ ।

समाजः विद्यार्थीका लागि अतिरिक्त कक्षा पनि सञ्चालन गरिन्छ । तपाइँहरुका लागि त्यस्तो कक्षा सञ्चालन गरिएको छ कि छुट्टै किसिमको कक्षा सञ्चालन गरिएको छ ?
लामाः
हाम्रो करिब ३ घण्टाको अतिरिक्त कक्षा हुन्छ । समय तालिका अनुसार छुट्टा–छुट्टै शिक्षकहरुले पढाउने गर्नुभएको छ ।
न्यौपानेः हाम्रो पनि सबै शिक्षकहरुले अरु कुरा भन्दा पनि पढाइलाई बढी प्राथमिकता दिने गरेको छ । अहिले हाम्रो रिभिजन सुरु भइसक्यो त्यसैले शिक्षकहरुको निर्देशन अनुसार पढ्ने गरेको छ । ३ वटा विषयहरुका लागि १–१ घण्टाको समय पाएमा राम्ररी अध्ययन गर्न सकिन्छ ।

समाजः अहिलेको समयमा विद्यालयमा धेरै समय व्यतित गरिरहनु भएको छ । दैनिक समय कसरी व्यवस्थापन हुन्छ ?
न्यौपानेः
अहिलेको समयमा विहान ६ बजेदेखि ७ बजेसम्म उठिन्छ । विहान एक घण्टा बुबा ममीले पढ्न भन्नु हुन्छ । बिहान अभ्यास गरेमा बेलुका पढेको कुरा सम्झन सजिलो हुन्छ भनेर बिहान १ घण्टा पढ्ने गरेको छु । त्यसपछि ८ देखि ८ बजेर ३० मिनेटसम्म बुवा–ममीसँग कुरा गरेर बस्छु । त्यसपछि खाना खाएर विद्यालय गएर घरमा ८ बजेतिर फर्कन्छु ।

समाजः यसरी लामो समयसम्म विद्यालयमा समय व्यतित गर्दा केकस्ता नयाँ कुराहरु सिक्नु भएको छ ?
न्यौपानेः
जस्तै अब गणितको कुनै कुनै हिसाबहरु अलि कठिन हुने भएकोले शिक्षकले दोहोराएर सिकाउँदा समयको पनि बचत हुने र सजिलो पनि हुने गर्छ ।
लामाः धेरैजसो गृहकार्यहरु गर्ने गरेको छु । बिहान उठेर राम्ररी याद गर्न सकिन्छ भनेर पढ्ने गरेको छु । अनि घरायसी कामहरु गरेर खाना खाएर घरबाट विद्यालय जानका लागि तयार हुन्छ । अतिरिक्त कक्षामा पनि सहभागी हुने गरेको छु । पहिलाको अतिरिक्त कक्षामा भन्दा पनि अहिलेको नियम अलि राम्रो लागेको छ ।

समाजः घरमै अतिरिक्त कक्षामा सहभागी हुने गर्नुभएको छ कि ? विद्यालयको कक्षामा ।
लामाः
घरमा पढाउने शिक्षकको अभाव भएकोले विद्यालयमा पढ्ने गरेको छु ।

समाजः विद्यालयको परीक्षाको तयारीका लागि पनि निकै मिहिनेत गरिरहनु भएको छ । प्रथम हुने लक्ष्यसहित मिहिनेत गरिरहनु भएको छ । परीक्षा भन्ने बित्तिकै कस्तो अनुभव हुन्छ ? परीक्षालाई कसरी नियाल्ने गर्नुभएको छ ?
लामाः
अब परीक्षा भन्ने बित्तिकै हामीले के–के सिकेको, के–के कुराहरु जानेको कुराहरुलाई परीक्षामा लेख्ने, प्राक्टिकलमा भन्ने गरिन्छ । परीक्षा आउने बित्तिकै कहिले काहिँ अंकको कारणले डर पनि लाग्छ । आफुले के–के जानेको छ भनेर नतिजा थाहा भएपछि पनि खुशीको अनुभव हुन्छ ।
न्यौपानेः परीक्षा पनि कुन परीक्षा भन्ने कुरा हुन्छ । प्रथम र दोस्रो परीक्षालाई अभ्यास मानिन्छ । तर अन्तिम वार्षिक परीक्षाका एकदमै डर लाग्छ । वार्षिक परीक्षा सुरु हुने बित्तिकै आफुले कुन अंक प्राप्त गर्ने हो भन्ने कुराको डर लाग्छ । परीक्षा भनेर कहिले काहिँ धेरै अध्ययन गरिरहेको हुन्छ ।

समाजः अहिले परीक्षाका लागि भनेर कसरी अध्ययन गरिरहनुभएको छ ?
न्यौपानेः
अहिले म गृहकार्य पनि गणित विषयको बढी हुन्छ । अतिरिक्त कक्षामा गणित विषयको अभ्यास गर्ने गरेका छौँ । पहिले पढाएको कुराहरुलाई अतिरिक्त कक्षामा पढ्ने गरेको छ ।

समाजः तपाइँको कक्षामा अरु साथीहरु पनि हुनुहुन्छ । साथीहरुसँग चाहिँ कतिको मिल्ने गर्नुभएको छ ? साथीहरुमा पनि महत्वपूर्व पात्रहरु हुनुहुन्छ । यसमा चाहिँ कस्तो महत्वपूर्व साथी हुनुहुन्छ ?
न्यौपानेः
अहिलेसम्म चाहिँ सबै महत्वपूर्ण साथीहरु हुनुहुन्छ । अब कसैले त्यस्तो पिट्ने, गाली गर्ने र कक्षामा ठुलो पल्टन खोज्ने कोहि पनि छैन । सबै सामान्य तरिकाले बोल्ने गर्नुभएको छ । हाम्रो कक्षामा सबै साथीहरुले मित्रताको व्यवहार गर्नुहुन्छ ।

समाजः तपाइँको विद्यालयमा चाहिँ पढाइको अंक कस्तो छ ?
न्यौपानेः
मेरो कक्षाको अंक प्रथम छ । अहिले के भइरहेको छ भने कक्षामा अहिले प्रतिस्पर्धामा कोहि पनि हुनुहुन्न । अहिले अन्तिममा आएर सबैले राम्रै गरिरहनु भएको छ । त्यसैले अहिले थोरै प्रतिस्पर्धा भइरहेकोले पढ्न मज्जा आइरहेको छ ।

समाजः अहिले थोरै प्रतिस्पर्धा भएकोले तपाइँलाई पढ्न मज्जा आइरहेको छ ?
न्यौपानेः
प्रतिस्पर्धा नभएको अवस्थामा पढ्दा छुट्टै अनुभव हुने भएकोले पढ्न मन लाग्दैन । प्रतिस्पर्धा भएको अवस्थामा अरुले जित्ला भन्ने डरले पनि पढाइमा सबैको ध्यान जाने भएकोले मलाई प्रतिस्पर्धा भएको ठिक लाग्छ ।

समाजः कञ्चनको परिवारमा को–को हुनुहुन्छ ?
लामाः
मेरो परिवारमा मेरो बाबा, ममी, हजुरआमा र म छु । मेरो सानो भाइ छ । मेरो बाबा साउदीमा काम गर्नुहुन्छ । मेरो ममी कृषिमा अलि धेरै रुचि गर्नुहुन्छ अनि घरमा काम गर्नुहुन्छ । हजुरआमाले घरको काममा ममीलाई सहयोग गर्नुहुन्छ ।

समाजः तपाइँले आफ्नो घरपरिवारलाई के–कस्तो कामहरुमा सहयोग गर्ने गर्नुभएको छ ?
लामाः
म धेरैजसो घरको काम गर्दिनँ । पढाईलाई बढी समय दिने गरेको छु । समय भएको खण्डमा घर सफा गर्छु । ममीलाई सोधेर काम गर्ने र लुगा धुने कामहरु गर्ने गरेको छु ।
न्यौपानेः मेरो परिवारमा बाबा, ममी, भाइ, हजुरबुबा हुनुहुन्छ । मेरो ममीले चाहिँ सत्यम बोर्डिङमा पढाउने गर्नुभएको छ । मेरो बाबाले बुद्धचोकको कृषि विकास बैंकमा काम गर्नुहुन्छ । हजुरबुबा र आमा चाहिँ पहिले गाउँमा बसेर खेती गर्नुहुन्थ्यो । अहिले घरायसी काममा सघाउने गर्नुभएको छ ।

समाजः तपाईंहरुले भविष्यमा के बन्छु भन्ने लक्ष्य राख्नुभएको छ ?
न्यौपानेः
मलाई कम्प्युटरसम्बन्धी रुचि छ । म भविष्यमा कम्प्युटर इन्जिनियर बन्न चाहन्छु ।
लामाः मलाई डाक्टर बन्नुछ र सेवा गर्नुछ ।

समाजः मनोरञ्जनमा कस्तो मनोरञ्जनात्यमक कुराहरुमा रुचि छ ?
लामाः
मलाईं संगीतमा रुचि छ । मैले गीत गाउने गरेको छु ।
न्यौपानेः मलाई क्रिकेट खेल्न मनपर्छ ।