वडा ५ को टिम

हेटौंडाः हेटौंडा–६ स्थित गौरिटार रंगशालामा जारी दोस्रो संस्करणको अन्तर वडास्तरीय १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगितामा वडा–५ विजयी भएको छ । आइतबार भएको खेलमा वडा–११ लाई टाइब्रेकरमा ३–१ गोल हराउँदै वडा नम्बर–५ ले विजयी सुरुवात गरेको हो ।

निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि नतिजाको लागि टाइबे्रकरको सहारा लिनुपरेको थियो । वडा–११ बाट सुदीप लामाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो भने राजेश घिमिरेको प्राहारलाई वडा–५ का गोल रक्षक समन सापकोटाले उत्कृष्ट प्रर्दशनी गर्दै बचाउ गरेका थिए । यस्तै वडा–११ को खेलाडी युग स्याङतानले प्रहार गरेको बल पोष्टबाट बाहिरीएको थियो । वडा–५ बाट एन्जल महर्जन, सन्जिव अर्याल र निरज ठकुरीको प्रहार गरेको बल गोलमा परिणत भएको थियो । खेलको म्यान अफ म्याच वडा–५ का गोल रक्षक समन सापकोटा घोषित भए ।

यस्तै आइतबार भएको दोस्रो खेलमा वडा नम्बर ७ विजयी भएको छ । वडा नम्बर १० लाई २–० गोल अन्तरले हराउँदै वडा–७ ले विजयी सुरुवात गरेको हो । वडा ७ को जितमा सुजना लामाले २ गोल गरे । लामाले खेलको पहिलो र दोस्रो हाफमा गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच लामा घोषित भए । प्रतियोगिता अन्तर्गत अब वडा ५ ले सेमीफाइनल प्रवेशका लागि बुधबार वडा–१२ सँग र वडा–७ ले १७ नम्बर र ६ नम्बरबीचको विजयी टिमसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत आज सोमबार वडा नम्बर ४ र वडा नम्बर ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा वडा नम्बर ६ र वडा १७ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्रको १७ वटा वडाहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।