हेटौंडा उपमहानगरपालिका बागमती प्रदेशको राजधानीसमेत हो । राज्य पुनर्संरचनाको क्रममा तत्कालीन हेटौंडा नगरपालिकामा आसपासका ५ वटा गाउँ विकास समिति गाभेर हेटौंडा उपमहानगरपालिका बनाइएको हो । ग्रामीण क्षेत्रहरु उपमहानगरपालिकामा समावेश भएसँगै हेटौंडाको भूगोल र जनसंख्या दुबै वृद्धि भयो । प्रदेश राजधानी भएपछि यहाँ जनसंख्याको चाप पनि त्यत्तिकै वृद्धि भइरहेको छ । वृद्धि हुँदै गएको जनसंख्या र विस्तार भएको ग्रामीण क्षेत्रमा खानेपानी आपूर्ति सहज बनाउन हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड क्रियाशील बनिरहेको छ । खानेपानीको वितरणलाई सहज बनाउन बोर्डले नयाँ आयोजनाहरु निर्माणलाई तिब्रता दिँदै खानेपानी वितरण प्रणालीमा पनि सुधार गर्दै आएको छ । संघीय सरकार, बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र बोर्डको आफ्नै स्रोतसमेत परिचालन गरेर विभिन्न खानेपानी आयोजना निर्माण भइरहेका छन् ।
हेटौंडाको खानेपानी वितरणलाई सहज बनाउन हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले मकवानपुरगढी–४ मा सामवेल निर्माण गरेको छ । विश्व खानीपानी दिवसको अवसरमा उक्त सामवेलको हेटौं डा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाबाट शुक्रबार उद्घाटनसमेत गरिएको छ । नवनिर्मित सामवेलबाट दैनिक ६० लाख लिटर पानी उत्पादन हुने बताइएको छ । दैनिक करिब २ करोड ६२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले उक्त सामवेल निर्माणपछि दैनिक ३ करोड २२ लाख लिटर पानी वितरण गर्ने जनाएको छ । नवनिर्मित सामवेलबाट हेटौंडा उपमहानगरपालिकाका साथै मकवानपुरगढी गाउँपालिकाका बासिन्दाले पनि खानेपानी प्राप्त गर्ने बोर्डले जनाएको छ । अहिले हेटौंडाका धेरै स्थानमा सामवेल तथा बोरिङ निर्माण गरी भूमिगत पानी निकालेर खानेपानी वितरण हुँदै आएको छ । यस्ता भूमिगत पानीको परिमाण निश्चित नहुने भएकाले बोर्डले सतही पानीको स्रोतको उपयोगमा पनि ध्यान दिने बताइएको छ ।
करिब एक दशकअघि हेटौंडा खानेपानी बोर्ड गठन गरेर तत्कालीन नेपाल खानेपानी संस्थानको हेटौंडा शाखालाई बोर्डमा हस्तान्तरण गरेपछि हेटौंडामा खानेपानीको ठूलो समस्या भएको छैन । विगतमा उपमहानगरपालिकाको सिमित क्षेत्रमा मात्र खानेपानी वितरण गर्दै आएको बोर्डले पछिल्लो समय आफ्नो सेवा क्षेत्रसमेत विस्तार गर्दै लगेको छ । उपमहानगरको विभिन्न क्षेत्रमा उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आएका आयोजनाहरु बोर्डमा हस्तान्तरण भइरहेका छन् । बोर्डमार्फत् खानेपानी उपभोग गर्दै आएका उपभोक्ताका लागि हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्मको खानेपानी महसुल छुट दिने व्यवस्था गरेपछि उपभोक्ता समितिले सञ्चालन गर्दै आएको खानेपानी आयोजनाहरु बोर्डमा हस्तान्तरण हुने क्रम बढेको हो । यसले बोर्डका लागि अवसर र चुनौती दुबै थप भएको छ । बढ्दो सेवाक्षेत्रका सेवाग्राही र खानेपानीको स्रोतलाई उचित परिचालन गर्दै खानेपानी आपूर्ति र वितरणलाई सहज बनाउनुपर्ने चुनौती बोर्डलाई देखिएको छ ।
बढ्दो शहरीकरण र जनघनत्वका कारण हेटौंडामा दिनप्रतिदिन खानेपानीको माग वृद्धि भइरहेको छ । भविष्यमा वृद्धि हुँदै जाने खानेपानीको मागलाई सम्बोधन गर्न बोर्डले पर्याप्त ध्यान दिनु आवश्यक छ । मानवीय आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानीको सहजता र पर्याप्तता पनि विकासको एउटा मानक हो । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने करिब दुई लाख जनसंख्यालाई सहजरुपमा खानेपानी वितरण गर्ने दायित्व पूरा गर्न बोर्डले सबै तहका सरकारसँग सहकार्य गर्नुपर्छ । दीर्घकालीनरुपमा पर्याप्त खानेपानी आपूर्तिका लागि उपयुक्त स्रोतको खोजी र विकासमा बोर्डले अग्रसरता देखाउन सकेमा हेटौंडाको खानेपानी वितरण सहज बन्ने निश्चित छ । खानेपानीको स्रोतको उचित विकाससँगै वितरण प्रणाली सुधार र विस्तारमा पनि बोर्डले ध्यान दिनु आवश्यक छ ।











