हेटौँडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा भएको जितपुर–सिमरा कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर जिल्ला क्रिकेट संघले जितेको छ । शनिबार जितपुर उपमहानगरपालिकाको सेज क्रिकेट मैदानमा भएको फाइनल खेलमा मकवानपुर जिल्लाले पर्सा जिल्लाको क्रिकेट टिमलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।

टस जितेर पहिलो व्याटिङ गरेको पर्सा जिल्लाले २० ओभरमा सबै विकेट गुमाएर ९० रन बनाएको थियो । पर्साको तर्फबाट सुरज पटेलले ४५ रन जोड्न सफल भएका थिए । हसिफ अन्सारीले १० रन बनाएका थिए । बलिङतर्फ मकवानपुरबाट अशिम श्रेष्ठले सर्वाधिक ३ विकेट लिन सफल भएका थिए । यस्तै पिउस शर्माले २ विकेट लिएको थिए भने विशाल फुँयालले र रोहित ठाकुरले समान १–१ विकेट लिएको थिए ।

पर्सा जिल्लाले दिएको ९१ रनको लक्ष्य पछ्याएको मकवानपुरले १२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । मकवानपुरको तर्फबाट तक्षक सिंखडाले ३० रन बनाएका थिए । विशाल फुँयालले २५ रनको योग्दान दिएका थिए । सक्षमले विना आउट १४ रन बनाएका थिए । पर्साको तर्फबाट समसाद मुनसुरीले ३ विकेट लिन सफल भएका थिए ।

प्रतियोगिताको उपाधि विजेता मकवानपुरले १ लाख रुपैयाँ र उपविजेता पर्साले ५० हजार रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बन्दै मकवानपुरका शुभ कंसकारले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै सर्वोकृष्ट व्याटस म्यान मकवानपुरका शुभ कंसकार घोषित भएका छन् ।

अभियान नेपाल बाराको आयोजनामा भएको प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको थियो । यस अघि सम्पन्न भएको सेमीफाइनल खेलमा मकवानपुरले भैरहवा क्लबलाई हराउँदै समुह बी को विजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो भने पर्साले जितपुर सिमरा स्पोर्टसलाई हराउँदै समुह ए को विजेता बन्दै फाइनलमा प्रवेश गरेको हो ।