हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाले चालु शैक्षिक सत्र र आगामी शैक्षिक सत्र लक्षित गरी विविध कार्यक्रम गर्ने भएको छ । वडाले विद्यार्थी, शिक्षक, कर्मचारी लक्षित कार्यक्रम गर्न लागेको शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ का संयोजक श्रीराम दाहालले जानकारी दिनुभएको छ ।

वडा समितिमा गत सोमबार बसेको बैठकले यही चैत १८ गते वडाका विद्यालयमा कार्यरत शिक्षकहरुबीच फुटसल प्रतियोगिता आयोेजना गर्ने निर्णय गरेको छ । चैत २३ र २४ गते जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोेगिता आयोजना गर्ने निर्र्णय गरेको छ । चैत २२, २३ र २४ गते पूर्वप्राथमिक तहका शिक्षकका लागि शैक्षिक सामग्री निर्माण तालिमको आयोजना गर्ने निर्णय गरेको समितिका संयोजक दाहालले जानकारी दिनुभएको छ ।

शैक्षिक गुणस्तर सुधार समितिको समन्वयमा वडा कार्यालयले आगामी शैक्षिक सत्रलाई पनि लक्षित गरेर वार्षिक परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थी, तिनका अभिभावक, सहयोगी शिक्षकलाई सम्मान गर्ने जनाएको छ । २०८१ साल बैशाख १४ गते विद्यार्थी, अभिभावक र शिक्षक सम्मानको कार्यक्रम तय गरिएको संयोजक दाहालले बताउनुभयो । कक्षा–८ को वार्षिक परीक्षाको आधारमा वडामै उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थी, तिनका अभिभावक र सहयोगी शिक्षकलाई सम्मान गर्न लागिएको हो ।

यस्तै बैशाख १४ गते नै वडाका शिक्षकहरुका लागि अभिप्रेरणात्मक अभिमुखीकरण र सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला पनि आयोजना गरिने बताइएको छ । कार्यक्रममा सरकारी र निजी दुबै विद्यालयका शिक्षकको सहभागिता रहनेछ । बैठकमा वडाअध्यक्ष नवीन सिग्देलले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुको अगुवाईमा उपयुक्त काम गर्नुपर्ने र त्यसका लागि वडाले सहयोग गर्ने बताउनुभयो । सरकारी र निजी विद्यालयले आपसमा सहकार्य गरेर वडाको शैक्षिक वातावरण निर्माण र विकासमा काम गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा वडा सदस्य गायत्री त्रिपाठी, जनरल श्रेष्ठको पनि उपस्थिति रहेको थियो । वडाले सरकारी र निजी विद्यालयका शिक्षक प्रतिनिधिको सहभागितामा शैक्षिक गुणस्तर सुधार समिति गठन गरेको छ । समितिको समन्वय र वडाको आर्थिक सहयोगमा शैक्षिक प्रदर्शनी, विद्यार्थीबीच विविध रचनात्मक प्रस्तुती र प्रतिस्पर्धाको आयोजना गर्दै आएको छ ।