हेटौँडाः विभिन्न घटनामा एकै दिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ, रामेछाप र रसुवामा एकै दिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । धादिङ जिल्लाको गजुरी गाउँपालिका–२, मलेखुमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्ला बराहा नगरपालिका–८ बस्ने ३७ वर्षीय बिपिन काफ्ले रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार बा प्र ०१–००६ ख ५१७४ नम्बरको बसमा काठमाडौंबाट आफ्नो घर जाने क्रममा धादिङ महादेवबेशी आइपुग्दा काफ्लेकोे एक्कासी श्वासप्रश्वासमा समस्या भई स्थानीय मेडिकलमा स्वास्थ्यजाँच गराई सोही बसमा फर्किएका थिए । फर्किने क्रममा धादिङ मलेखुमा पुग्दा झनै स्वास्थ्यमा समस्या देखिएकोले काफ्लेलाई मलेखुस्थित टिचिङ अस्पतालमा लगिएकोमा उपचारको उपचारकै क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रामेछाप जिल्लाको लिखु–तामाकोशी गाउँपालिका–४, नंगीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ५२ वर्षीय बुक बहादुर सुनुवार रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार सुनुवार घर नजिकै रहेको छिमेकीको घरको करेसाबारीमा मृतक फेला परेको थिए । सुनुवार ३ दिनदेखि झाडापखला लागी हल्का विरामी भइरहेको भन्ने बुझिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रसुवा जिल्लाको कालिका गाउँपालिका–३, धारापानीमा गोरेटो बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीय वीर बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार तामाङ सिचाई ट्याङ्कीमा मजदुरी गरी घर फर्कने क्रममा अचानक सोही स्थानको गोरेटो बाटोबाट ७ मिटर तल ढलानमा लडी घाइते अवस्थामा फेला परेका थिए । घाइते तामाङलाई उद्दार गरी घरमा लगेर राखिएकोमा घरमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।