हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाबाट ४ जना बालश्रमिकको उद्दार गरिएको छ । हेटौंडा–८, कमानेस्थित कालिकामाई टोलमा प्रकाश खतिवडाको च्याउ खेतीबाट बालश्रमिकको उद्दार गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाका बालमैत्री सहजकर्ताको सहयोगमा बालश्रममा संलग्न बालकहरुको उद्दार गरिएको छ । उद्दार कार्यमा बाल हेल्पलाइन नेपाल तथा स्थानीय टोल विकास संस्थाकोसमेत सहभागिता थियो । हेटौंडा–८ का सहजकर्ता रोजिता दङ्गाल, हेटौंडा–७ का सहजकर्ता बिवेक अधिकारी, हेटौंडा–१ का सहजकर्ता कृष्टिना मैनाली, १ न वडाको जनप्रतिनिधि मनु दाहाल, कालिकामाई टोलको निलगिरी बाल समूह संरक्षक अभिभावक भीमसेन घिमिरे, इशान रुपाखेती, बाल हेल्पलाइन मकवानपुरको सहयोगमा उद्दार गरिएको बताइएको छ ।

उद्दार गरिएकोमा हेटौंडा–१५, रातोमाटे बस्ने अनिल बल, नकौली बस्ने रजित भोम्जन, रमित पाख्रिन र अजय स्याङ्तान रहेका छन् । उनीहरुलाई अहिले बाल हेल्पलाइनमा राखिएको छ भने परिवारको खोजी कार्य हुँदैछ ।

रोजगारदातालाई मंगलबार श्रम कार्यालय झिकाई बालबालिकालाई बालश्रममा लगाएबापत उचित कानुनी कारबाही हुने बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । सबै बालबालिका सिविन बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको र परिवार पत्ता लगाएपछि पारिवारिक पुनःस्थापना गर्ने र विद्यालयको शिक्षामा जोड दिन पहल गर्ने सहजकर्ताले जानकारी दिनुभयो ।