सुनचाँदी व्यावसायी महासंघ बागमती प्रदेशका नवनिर्वाचित कार्यसमितिको तस्वीर ।

हेटौंडाः नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य चयन हुनुभएको छ । महासंघको तेश्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले बज्राचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको उपसभापतिमा रत्नसुन्दर शाक्य र यमप्रसाद विश्वकर्मा लोहनी रहनुभएको छ । यस्तै, सचिवमा सुसन शाक्य, सह–सचिवमा प्रदिपरत्न शाक्य, कोषाध्यक्षमा रमेशबहादुर शाक्य, सह–कोषाध्यक्षमा उमेशरत्न शाक्य रहनुभएको छ । जिल्ला तथा नगर सदस्यमा टेकबहादुर विश्वकर्मा, मोतिमान शाक्य, ताराराम मुनकर्मी, वस्तुगत सदस्यमा भीमप्रसाद पाण्डे रहनुभएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । शनिबार नै नयाँ कार्य समितिको चयन भएको थियो । सोमबार साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्य समितिलाई निर्वाचन अधिकृत अमृत लामाले सपथग्रहण गराउनुभएको हो । साधारणसभा प्रदेश सभापति जोतिरत्न बज्राचार्यको सभाध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक तेजरत्न शाक्य, महासंघका सदस्य मणिरत्न शाक्यलगायत महासंघका सदस्य, व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सुनचाँदी व्यवसायीहरुले प्रदेश महासंघले व्यवसायीको हितका लागि काम गर्न नसकेको बताउनुभयो । व्यवसायीले सुन वितरणमा ओजियलमार्फत् हुनुपर्ने बताएका थिए । प्रदेश महासंघलाई आर्थिकरुपले सम्पन्न गर्नुपर्ने जोड दिएका थिए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष शाक्यले सबै प्रदेशलाई समायोजन गरेर लैजानुपर्नेमा जोड दिनुभएको थियो । आफ्नो कार्यकालमा बागमती प्रदेशमा प्रदेशस्तरीय सुनचाँदी ऐन निर्माण गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारलाई बजेट समायोजन गर्न प्रदेश समितिलाई चलायमान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । सरकारमार्फत् सुनचाँदी तालिम सञ्चालन गर्ने र सीटीइभीटीमार्फत् गहनाको डिजाइनसम्बन्धी तालिम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।