हेटौँडाः बागमती प्रदेश सभा अन्तर्गत बजेटबारे बहस गर्न गठित विशेष संसदीय समितिले प्रदेश सभामुखलाई प्रतिवेदन बुझाएको छ । मंगलबार समितिका संयोजक गोविन्द लम्सालले बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकलाई प्रतिवेदन बुझाउनुभएको हो ।
बागमती प्रदेश सभाको फागुन १७ गतेको बैठकको निर्णय अनुसार गठित समितिले प्रदेश सभाको बैठकमा चालु आर्थिक वर्षको बजेट पास गर्नुपूर्व मुख्यमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीले प्रतिबद्धता जनाए अनुसारका योजनाहरु कार्यान्वयन नभएको उल्लेख गरिएको छ । गत असार २० गते प्रदेश मन्त्रीपरिषद्को निर्णय अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रस्तावित बजेटसहितका आयोजनाका सुची कार्यान्वयनका लागि निर्देशनसहित पठाएकोमा हालसम्म प्रदेश सरकारबाट ती आयोजनाहरु कार्यान्वयन नगरिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त आयोजनाहरु प्रदेश सरकारबाट कार्यान्वयन गर्न बुधबारको प्रदेश सभाको बैठकबाट निर्णयसहित प्रदेश सरकारलाई दिन पनि भनिएको छ ।
यस्तै संलग्न सूची बमोजिमका आयोजना सम्बन्धित विषयगत मन्त्रालय तथा निकायले मन्त्रालयगत बजेट सुचना प्रणालीमा प्रविष्टी गर्ने र आर्थिक मामिला तथा योजना मन्त्रालयले सोका लागि आवश्यक सहजीकरण र समन्वय गर्न पनि समितिले सुझाएको छ । आयोजना प्रस्ताव गरिएको बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध र अन्य उपयुक्त शिर्षक अन्तर्गतको पुँजीगततर्फ विनियोजित रकमबाट रकमान्तर गर्ने व्यवस्था गर्न, विषयगत मन्त्रालय तथा निकायले आफु अन्तर्गत र सम्बन्धित विषयगत कार्यालयहरुमार्फत उल्लेखित आयोजनाहरुको नियम अनुसार कार्यान्वयन गर्ने गराउनेबारे समितिले निर्देशन दिन भनिएको छ ।
यस्तै मन्त्रालय अन्तर्गतको बजेट आयोजनाहरुले प्रचलित नियम बमोजिम कार्यान्वयन गर्न सक्ने हुँदा सोही अनुसार गरी पुँजीगत खर्च गर्न गराउन प्रदेश सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ । सिफारिस योजनाहरु कार्यान्वयन कार्यक्रमहरुको हकमा चैतको पहिलो साताभित्र कार्यान्वयन गर्न समयसीमा तोकेर सरकारलाई निर्देशन दिन प्रतिवेदनमा भनिएको छ । उक्त प्रतिवेदन मंगलबारको प्रदेश सभा बैठकमा प्रस्तुत हुने र प्रतिवेदनमाथि छलफल हुने संयोजक लम्सालले बताउनुभएको छ ।