हेटौँडाः मकवानपुरका तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा थाहा नगरपालिका–७ डाँडावासका ईमान सिंह थिङ, मनहरी गाउँपालिका–७, रमौलीकी मुना अर्याल र हेटौँडा–१७ का झम्कनाथ सुवेदीलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाका ३ जना किसानलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको हो । थाहा नगरपालिका–७ स्थित डाँडावास कृषि प्रालिका ईमान सिंह थिङ बाख्रा र तरकारी खेती गर्दै आउनुभएको छ । मनहरी गाउँपालिका–७, रमौलीस्थित रवि व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आउनुभएकी मुना अर्यालले कागती र ड्रागन खेती गर्दै आउनुभएको छ । त्यसैगरी, हेटौँडा–१७ स्थित बिबिआर एग्रो प्रालिका झम्कनाथ सुवेदीले बोयर जातको बाख्रा पालन गर्दै आउनुभएको छ ।
पशु सेवा कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँले पुरस्कार वितरण गर्नुभयो । मकवानपुरका विभिन्न स्थानबाट ११ वटा प्रस्ताव मध्येबाट तीन जना कृषकलाई पुरस्कृत गरिएको पशु सेवा कार्यालयका प्रमुख डा. बज्रकिशोर ठाकुरले बताउनुभयो ।