Home मुख्य समाचार बेवारिसे अवस्थामा भेटिएकी शिशुले अभिभावक पायो

बेवारिसे अवस्थामा भेटिएकी शिशुले अभिभावक पायो

हेटौँडाः गत कार्तिक ३० गते साँझ हेटौँडा–४, हुप्रचौरमा भेटिएको नवजात शिशुले अभिभावक (वैकल्पिक हेरचाहकर्ता) प्राप्त गरेको छ । फागुन १४ गते हेटौँडा उपमहानगरपालिकाले मधेश प्रदेशको पर्सा जिल्लाको ठोरी गाउँपालिकाका निसन्तान दम्पत्तिलाई शिशु हस्तान्तरण गरेको छ । बेवारिसे भेटिएकी शिशुको अभिभावकत्व ग्रहण गर्न इच्छुक ६ दम्पत्ति र एक एकल महिलाको आवेदनमध्ये उपमहानगरपालिकाको कार्यविधिअनुसार ठोरी गाउँपालिकाका आकांक्षीलाई अभिभावकत्व ग्रहण गर्ने गरी शिशु हस्तान्तरण गरिएको हेटौँडा उपमहानगरपालिकाकी बाल कल्याण अधिकारी विष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ ।

ठोरी गाउँपालिकासँग समेत आवश्यक समन्वय गरी शिशु हस्तान्तरण गरिएको उहाँको भनाइ छ । हालसम्म निसन्तान र भविष्यमा पनि सन्तान प्राप्त गर्न सक्ने अवस्था नभएको देखिएको, सामाजिक, आर्थिकरुपमा समेत सक्षम देखिएको दम्पत्तिलाई शिशु हस्तान्तरण गरिएको लामिछानेले स्पष्ट पार्नुभएको छ । बेवारिसे शिशु भेटिएपछि हेटौँडा उपमहानगरपालिकाले बालअधिकार संरक्षण तथा सम्वर्धनसम्बन्धी कार्यविधि–२०८० नै तयार पारेर शिशु हस्तान्तरण गरेको हो । संघीय कानुनले बेवारिसे अवस्थामा भेटिएका शिशुलाई वैकल्पिक हेरचाहकर्तालाई हस्तान्तरण गर्ने व्यवस्था गरे पनि कसलाई दिने भन्ने यकिन गर्न सक्ने अवस्था नभएपछि हेटौँडा उपमहानगरपालिकाले आफैं कार्यविधि बनाएर हस्तान्तरण गरेको हो ।

बेवारिसे अवस्थामा बरामद शिशु ३ महिना १४ दिन सेफ हाउसमा रहेकी थिइन् । कार्तिक ३० गते साँझको समयमा हेटौँडा–४, हुप्रचौरमा बेवारिसे अवस्थामा भेटिएकी शिशुको वास्तविक अभिभावक पहिचान गर्न, त्यहाँ कसले ल्याएर छाडेको भनी आवश्यक अनुसन्धान गर्न भने स्थानीय सरकार र प्रहरी प्रशासन सफल हुन सकेन ।

Exit mobile version