हेटौंडाः मकवानपुर जिल्ला व्याडमिन्टन संघले हेटौंडामा आगामी चैत ९ र १० गते जिल्लास्तरीय खुला नकआउट व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार जिल्ला व्याडमिन्टन संघका अध्यक्ष विष्णु घिमिरे धुर्वको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिताको आयोजना आगामी चैत ९ र १० गते गर्ने निर्णय गरेको हो ।
हेटौंडा–११, थानाभ¥याङको कभर्ड हलमा हुने प्रतियोगितामा २ वटा विधामा प्रतिपस्पर्धा हुने जिल्ला व्याडमिन्टन संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिनुभएको छ । प्रतियोगितामा ४५ वर्षभन्दा अधिक उमेर समूह भेन्ट्रास खेलाडीको र त्यो भन्दा कम उमेर समूहका खेलाडीहरुको पनि सहभागिता रहने सदस्य मोक्तानले बताउनुभयो ।
प्रतियोगितामा मकवानपुर जिल्लाभित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो । करिब ७ महिना पहिला स्थापना भएको संघले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो । जिल्लामा व्याडमिन्टन खेलको विकास गर्ने, लुकेको खेलाडीहरुको प्रतिभालाई जगाउने, व्याडमिन्टनको नयाँ खेलाडीहरुको उत्पादन गर्ने, मकवानपुर जिल्लाको विभिन्न पालिकाका खेलाडीहरुबीच भातृत्व कायम गराउने र खेलाडीहरुको रुचि क्षमताको विकास गर्ने उद्देश्यले संघको शुक्रबार बसेको कार्यसमिति बैठकले प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको पुरस्कार राशिबारे पछि निर्णय गर्ने आयोजक समितिले जनाएको छ ।
जिल्ला व्याडमिन्टन संघका उपाध्यक्ष सुरेन्द्र प्रधानको संयोजकत्वमा हुने प्रतियोगिताका लागि ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा क्रमशः नरेन्द्र मोक्तन, देवकुमारी घिमिरे, नवराज राई, दीपक सिंह बुढाथोकी, विक्रम लामा र प्रह्लाद उप्रेती रहेका छन् । कार्यसमितिको बैठकमा व्याडमिन्टन संघमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।