गुगल तस्विर ।

हेटौंडाः विभिन्न घटनामा बागमती प्रदेशको दुई जिल्लामा एकै दिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको चितवनमा ३ जनाको मृत्यु भएको र रामेछापमा एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बेलचोकमा मानवसेवा आश्रममा आश्रित एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६९ वर्षीय चुडामणि विक रहेको प्रहरीले जानकारी दिएको छ । विकलाई गत मंसिर २१ गते चितवनको खैरहनी नगरपालिका–१, ज्यामिरेबाट उद्दार गरी आश्रममा राखिएकोमा मंगलबार कालगतिले मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाकै राप्ती नगरपालिका–५, खहरेपुलमा स्कूल बसले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय विष्णुभक्त श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बिहान ६ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा भरतपुरबाट पिप्लेतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०८९२ नम्बरको अंकुरम एकेडेमीको स्कूूल बसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा श्रेष्ठ घाइते भएका थिए । घाइते श्रेष्ठलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मंगलबार बिहान १० बजेर ५ मिनेटको समयमा मृत्यु भएको प्रहहरीले जानकारी दिएको छ ।

यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, भोजाडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवजीवन टोल बस्ने ३८ वर्षीय प्रेमबहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा ११ नम्बर वडा कार्यालयअगाडि भोजाडबाट विशालचोकतर्फ जाँदै गरेको बा प्र ०६–००२ प ७६५ नम्बरको टिपरले र सोही दिशातर्फ जाँदै गरेको ना ३९ प २१०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएका थिए । घाइते तामाङलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मंगलबार दिउँसो ४ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका–४, सालुमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया शोभा नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार नेपाली कच्ची सडकमा हिँड्दै गर्दा सडकको छेउमा लगाइएको १० मिटर अग्लो पर्खालबाट अचानक लडी गम्भीर घाइते भएकी थिइन् । घाइते नेपालीलाई उपचारको लागि मन्थली अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।