हेटौंडाः हेटौंडा अस्पतालमा ७ महिनामा एक हजारभन्दा बढि शल्यक्रिया भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा अस्पतालले एक हजार एक सय ६० जनाको शल्यक्रिया गरेको हो ।
अस्पतालले माघ महिनामा २ सय १७ जनाको शल्यक्रिया गरेको छ । अस्पतालको शल्यक्रिया विभागका अनुसार हाडजोर्नीको ३७ वटा, सर्जरीको ९२ वटा, स्त्री तथा प्रसुतिको ७९ वटा र नाक, कान, घाँटीको ९ वटा शल्यक्रिया गरिएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभयो । शल्यक्रिया गर्नेमा हाडजोर्नीतर्फ १३ जना महिला र २४ जना पुरुष रहेका छन् । यस्तै, सर्जरीतर्फ ४३ जना महिला र ४९ जना पुरुषले शल्यक्रिया गरेका छन् । यस्तै, नाक, कान, घाँटीतर्फ शल्यक्रिया गर्ने ६ जना महिला र ३ जना पुरुष रहेका छन् ।
हेटौंडा अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा २ सय ४३ जनाको शल्यक्रिया गरिएको थियो । यस्तै, भदौ महिनामा एक सय ७१ जना, असोज महिनामा एक सय ६५ जना र कार्तिक महिनामा एक सय २६ जनाको शल्यक्रिया गरिएको छ । यस्तै, मंसिर महिनामा एक सय ४६ जना र पुस महिनामा एक सय ६३ जनाको शल्यक्रिया भएको हो ।
हेटौंडा अस्पतालले आइतबार र बुधबार हाडजोर्नीको शल्यक्रिया गर्ने गरेको छ । सोमबार र बिहीबार सर्जरी तथा नाक, कान, घाँटीको शल्यक्रिया गरिरहेको छ भने मंगलबार र शुक्रबार स्त्री तथा प्रसुतिको शल्यक्रिया गरिरहेको छ ।
हेटौंडा अस्पतालमा न्युरोसम्बन्धी ओपीडी सेवामात्र छ । ओपीडीमा डाक्टर विक्रमादित्यप्रसाद साहले सेवाग्राहीलाई जाँच गरिरहनु भएको छ । डा. साहका अनुसार अस्पतालमा न्युरोको शल्यक्रिया गर्ने उपकरण नभएका कारण शल्यक्रियाको व्यवस्था मिलाइएको छैन । न्युरो विभागमा इमर्जेन्सी, पुनः जाँच तथा विभिन्न विभागबाट रिफर भई दैनिक औसतमा २०–२५ जना बिरामी जाँच गर्न आउँछन् । जाँच गर्न आएका केहीको शल्यक्रियासमेत गर्नुपर्ने हुँदा बिरामीलाई रिफर गर्ने गरेको साहले जानकारी दिनुभयो । उहाँका अनुसार रिफर गर्नुपर्ने बिमाका बिरामीलाई बिमा सुविधा भएको अस्पताल र बिमा नभएको बिरामीलाई इच्छाअनुसार रिफर गरिन्छ । अस्पतालमा डा. साहका साथमा एक सहयोगीसमेत हुनुहुन्छ ।