हेटौँडाः विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा आधारभूत तहस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माविमा भएको प्रतियोगितामा ८ नम्बर वडा कार्यालयको सहकार्यमा रहेको थियो ।
जिल्लाका २८ विद्यालयका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा सहभागी विद्यालयलाई पालिकागत रुपमा तीनवटा क्लस्टर बनाइएको थियो । क्लस्टरहरूमा भएको प्रतियोगितामा हेटौँडा–४ स्थित भुटनदेवी मावि, कैलाश गाउँपालिका–९ स्थित कालिका मावि र मनहरी गाउँपालिकाको युवावर्ष गंगा आधारभूत विद्यालय उत्कृष्ट हुन सफल भएको विज्ञान शिक्षक समाज मकवानपुरका सचिव सुवास खनालले जानकारी दिनुभयो ।
विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षता तथा वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा, चन्द्रोदय माविका प्रधानाध्यापक जिधराज ढकालको पनि आतिथ्य रहेको थियो । वडाअध्यक्ष थापाले नवप्रवर्तनात्मक काम गर्नेहरूले वडासँग सहकार्य गर्न चाहेमा वडा सधैँ तत्पर रहेको बताउनु भएको छ ।