हेटौंडाः नेपालका राष्ट्रगुरु योगी नरहरिनाथको ११० औ प्रागट्य दिवस मनाइएको छ । बिहीबार प्रागट्य दिवसको अवसर पारेर बेद स्कूलका ५० जना बटुक ब्राह्मणहरुद्वारा स्वस्थी बाचन गरेर माल्यार्पण गरिएको थियो । विश्व हिन्दू महासंघ नगर समिति, विश्व हिन्दू महासंघ जिल्ला समिति एवम् हनुमान मन्दिर व्यवस्थापन समितिको सयुक्त उपस्थितिमा माल्यार्पण गरेर जन्मोत्सव मनाइएको हो ।

कार्यक्रममा विश्व हिन्दू महासंघ बगमती प्रदेशका उपाध्यक्ष हयग्रिव आचार्यद्वारा योगि नरहरिनाथका जीवनी र हिन्दू धर्म संरक्षणको निमित्त भोग्नुपरेका कठिनाइ एवम् उहाँद्वारा रचना गरिएका २३९ वटा धार्मिक पुस्तकको विषयमा जानकारीसमेत गराइएको थियो । कार्यक्रम मकवानपुर जिल्लामा पहिलो पटक भएको हो । कार्यक्रम सफल बनाउन नगर अध्यक्ष राजेश वाग्लेको ठूलो भूमिका रहेको बताइएको छ । हनुमान मन्दिर विकास समितिका सचिव महेन्द्र इटेनीले पनि ऐतिहासिक कार्यक्रमको थालनी गर्नुभएकोमा नगर अध्यक्षलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।