हेटौँडाः हेटौँडा खुल्ला राष्ट्रिय पुरुष रन प्रतियोगितामा काठमाडौँका मुकेश पल प्रथम भएका छन् । शुक्रबार हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा ९२ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै मुकेश प्रथम भएको हो ।
मुकेशले ५ किलोमिटर दुरी १५ मिनेट २२ सेकेन्ड ३३ पलसमा पार गरे । यस्तै कर्णाली प्रदेशको जुम्ला जिल्लाका दुर्गा बहादुर बुढाले १५ मिनेट ४५ सेकेन्डमा दुरी पार गर्दै द्वितीय र १५ मिनेट ३० सेकेन्ड दुरी पार गर्दै काठमाडौँकै सञ्जय कार्की तृतीय भएका छन् । यस्तै काठमाडौंबका टंक कार्की र दाङका नागेश्वरी सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेहरुले क्रमशः ६० हजार रुपैयाँ, ५० हजार, ४० हजार र १०–१० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागिहरुले हेटौंडाको बुद्धचोकबाट सुरु भएर पिप्ले हुँदै पुनः बुद्धचोकमा आइपुग्नु परेको थियो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण भएको छ । कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख झरेन्द्र प्रसाद चापागाईं र वरिष्ट पत्रकार प्रताप विष्टको पनि उपस्थिति रहेको थियो ।











