हेटौंडाः बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बालबालिकाको क्षेत्रमा प्रदेशले अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । बालबालिकामा गरिएको लगानी चाँडै नदेखिने भएकाले उपलब्धी खोज्न नमिल्ने भन्दै आधारमा लगानी गर्दामात्रै उपलब्धी हुने उहाँले बताउनुभएको हो ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा बुधबार हेटौंडामा आयोजित बागमती प्रदेशको बालबालिकासम्बन्धी नीति २०८० को प्रबोधिकरण कार्यक्रममा मन्त्री मोक्तानले प्रदेश सरकार बालबालिकाको क्षेत्रमा सचेत रहेको बताउनुभएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थादेखि सरकारी कार्यालयहरुको सहकार्य र समन्वयमा चुस्तरुपमा काम गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. भीष्मकुमार भुसालले बालबालिकाको पहिचान खुल्ने कागजात निर्माणका लागि स्थानीय पञ्जिकाधिकारीले सहजीकरण गर्नुपर्ने बताउनुभयो । बालमैत्री स्थानीय शासनको सवाल चर्चामा रहँदै गर्दा बालमैत्री अभिभावकको सवालप्रति पनि चासो प्रकट गर्नुपर्ने उहाँले बताउनुभयो । विपदमा सबैभन्दा बढी महिला र बालबालिका पीडित हुने गरेकाले स्थानीय तहले तिनै क्षेत्रमा बढी ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ऐन, कानुन, दस्तावेज अनुबन्धलाई भन्दा पनि प्रदेश सरकारले बनाएको नीतिमा टेकेर स्थानीय तहले नै काम नगरे सामाजिक न्याय सम्भव नहुने उहाँले बताउनुभयो ।
बाल कल्याण समाज मकवानपुर हेटौंडाको समन्वयमा बागमती प्रदेश–बालबालिकासम्बन्धी नीति २०८० को प्रबोधिकरण कार्यक्रम भएको हो । कार्यक्रम वर्ड भिजन इन्टरनेशनल नेपाल र बाल विकास समाजको सहयोग तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको थियो ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ, प्रदेशको विभिन्न जिल्लाका विभिन्न स्थानीय तहका उप–प्रमुख, बालबालिका महाशाखा तथा शाखाका कर्मचारी, प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि, बालबालिका शाखामा कार्य गर्ने स्थानीय संघसंस्था, श्रम तथा रोजगार कार्यालयको सहभागिता रहेको प्रदेश बाल अधिकार समिति सदस्य प्रकाश खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बाल अधिकार विज्ञ चन्द्रिका खतिवडा, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सुम्मा पोखरेल, परिषद्को उपसमिति सदस्यहरु, समाजिक विकास मन्त्रालयको महाशाखा प्रमुखद्वय गोपाल कँडेल, अमृत अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश प्रहरी कार्यालय, प्रदेशको बिभिन्न मन्त्रालयको प्रतिनिधि, वर्ड भिजन इन्टरनेशनलका अनुप राना, उमा मगर, गीता डंगोल, बाल विकास समाजका प्रकाश महर्जन, प्रदेश बाल अधिकार समिति सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
