हेटौंडाः झापा जिल्लामा आयोजना हुने छैटौं संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुर जिल्लाको फुटबल टिम सहभागी भएको छ । आउँदो शनिबारबाट सुरु हुने प्रतियोगितामा एन्फा मकवानपुरले पहिलो पटक गोल्डकपमा सहभागी जनाएको हो ।
अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले मकवानपुरले उक्त गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको बताउनुभयो । यसपटक मकवानपुरले जिल्लाभित्रका खेलाडीलाई समेटेर बलियो टिम बनाएको उहाँको भनाइ छ । टिममा दुई जना विदेशी खेलाडी पनि रहने अध्यक्ष लामाले बताउनुभयो ।
यसअघि माघ २७ गते सम्पन्न मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको टिमबाट खेलेका खेलाडीहरु परिवर्तन गरेको पनि उहाँले बताउनुभयो । ‘ए’ डिभिजन क्लबसहित १० टिम सहभागी प्रतियोगितामा मकवानपुरले सिधै क्वाटरफाइनलमा स्थान बनाएको छ । बुधबार सार्वजनिक गरेको प्रतियोगिताको खेल तालिकाअनुसार मकवानपुरले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
मकवानपुरले सेमिफाइनल प्रवेशका लागि आउँदो बिहीबार झापा–११ फुटबल टिमसँग प्रतिस्पर्धा गर्नेछ । फाल्गुन २८ गते फाइनल हुने प्रतियोगिताको विजेता टिमले १३ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।