शिविरमा आँखा परीक्षण गरिँदै । फाइल तस्वीर ।

हेटौंडाः सर्लाही जिल्लामा निःशुल्क आँखा शिविर हुँदा ९९ जनामा मोतिविन्दु पहिचान भएको छ । मंगलबार भएको आँखा शिविरमा ३ सय ९५ जनाको आँखा जाँच गर्दा ९९ जनाको आँखामा मोतिविन्दु पहिचान भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभएको हो ।

रोटरी क्लक अफ हेटौंडाको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर भएको हो । आज बुधबार चितवनको खैरहनी र हेटौंडा उपमहानगरपालिका–१६ को हटियामा शिविर हुँदैछ । यस्तै, बिहीबार मकवानपुरको बाघमारामा शिविर हुने श्रेष्ठले बताउनुभयो । शिविरमा पहिचान भएका मोतिविन्दु बिरामीको शुक्रबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने भएको छ ।