हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक देश भएको बताउनुभएको छ । मंलबार नेपाल मगर संघ जिल्ला कार्यसमिति मकवानपुरको ४२ औँ स्थापना दिवसको अवसरमा भएको मगर समुदायको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले यस्तो बताउनुभएको हो ।

उहाँले धेरै वर्ष पहिला राजतन्त्रको नेतृत्व भएको कारणले मानिसहरु आफ्नो हिसाबले चल्न नपाउने, आफूलाई लागेको कुराहरु राख्न नपाउनेजस्ता चलनहरु चल्ने गरेकोमा अहिले लोकतान्त्रिक व्यवस्था भएका कारण सांसदमा बोल्न पाइने, विभिन्न सम्मेलनहरुमा आफ्नो कुराहरु राख्न पाइने अवस्था सिर्जना भएको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कारणले गर्दा नेपालीहरुले राजनीतिक, सांस्कृतिक र धार्मिक स्वतन्त्रतामा बाँच्न पाइरहेको बताउनुभयो । लोकतन्त्रको अधिकारमा आनन्दले बाँचिरहेका मानिसहरुले पनि राजाको शासनको माग गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

राजतन्त्रमा एकात्मक व्यवस्था, एकात्मक संस्कृति, एकात्मक धर्म र एकात्मक जात हुने भएकाले नेपाली जनताहरुले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट अस्वीकार गरेकोे बताउनुहुँदै सबै जनताहरुले लोकतान्त्रिक शासनको पालना गर्नुपर्ने बताउनुभयो । उहाँले मगर सामुदायहरु बागमती प्रदेशमा अल्पसंख्यामा परेको बताउनुभयो ।

बागतमी प्रदेशले पहिलो पटक भाषा आयोगले सिफारिस गरेअनुसार नेपाल भाषा र तामाङ भाषालाई कामकाजको भाषा बनाउने कामलाई अगाडि बढाइरहेको बताउनुभयो । संयुक्त राष्ट्र संघको सदस्यता लिनका लागि नेपाल सरकारले नेपाली भाषामा आवेदन दिए पनि संयुक्त राष्ट्रसंघले अस्वीकार गरेको भन्दै मुख्यमन्त्री जमकट्टेलले रञ्जना लिपिमा आवेदन दिएर नेपाल संयुक्त राष्ट्र संघको सदस्य बनेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न प्रकारको खानेकुराको स्टल पनि राखिएको थियो । संघका अध्यक्ष सन्देश तुम्सिङ मगरको सभाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देललगायतको आतिथ्य थियो ।