हेटौंडाः बागमती प्रदेश सरकारले बुधबारबाट प्रदेशभरका जिल्लाहरुमा भेडाबाख्रालाई पीपीआर रोग नियन्त्रण र रोकथामका लागि खोप लगाउँदैछ । मंगलबार प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्र्रेस ब्रिफिङ गर्दै सप्ताहव्यापी खोप अभियानबारे जानकारी गराएको हो ।

पीपीआर रोग भेडाबाख्राका लागि हैजाजस्तै मानिने रोग हो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् मकवानपुरमा २ लाख ८ हजार भेडाबाख्रालाई खोप लगाइने मन्त्रालयका प्रवक्ता सुजन कँडेलले बताउनुभयो । मकवानपुरमा ३ लाख १३ हजार बाख्रा र २ हजार ५ सय भेडा रहेका छन् । प्रवक्ता कँडेलका अनुसार एक पटक खोप लगाइसकेका भेडाबाख्रामा ३ वर्षसम्म रोग प्रतिरोधात्मक क्षमता रहने भएकाले खोप लगाउन बाँकी भेडाबाख्रालाई प्राथमिकतामा राखेर खोप लगाइनेछ । मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले पीपीआरविरुद्धको खोप अभियानमार्फत् प्रदेशभरी पीपीआर रोग न्यूनीकरणका लागि जनचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रम प्रदेशका १३ वटै जिल्लाबाट एकैसाथ सुरु गरिने भएको छ । यसका लागि सम्बन्धित पशु सेवा कार्यालयद्वारा खोप अभियानका लागि स्थानीय तहको समन्वयमा खोप केन्द्र निर्धारण र भ्याक्सिनेटर नियुक्त गरिएको जनाइएको छ ।

मन्त्रालयले प्रदेशभर १५ लाख ९४ हजार भेडाबाख्रालाई खोप लगाउँदैछ । सबैभन्दा बढी धादिङ जिल्लामा २ लाख २८ हजार र सबैभन्दा कम भक्तपुरमा १२ हजार भेडाबाख्रालाई खोप लगाइने भएको छ । प्रदेशभर १ हजार २ सय खोप केन्द्रबाट खोप लगाइने भएको छ भने ४ सय १८ जना भ्याक्सिनेटर खटिने भएका छन् । जसमध्ये मकवानपुरमा १९ खोप केन्द्र कायम हुने र ६३ जना भ्याक्सिनेटर खटिने जनाइएको छ । खोप अभियान फागुन २२ गतेसम्म सञ्चालन हुनेछ ।