जिसस बोर्ड बैठकमा सहभागीहरु ।

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ६३ औं बोर्ड बैठक बिहिबार बसेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बोर्डको बसेको बैठकमा कोभिड–१९ का सन्दर्भमा जिससबाट भए, गरेका कामका बारेमा समीक्षा गर्नुका साथै विभिन्न निर्णय गरेको छ । बैठकले स्थानीय तहलाई आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा ध्यान दिनुपर्ने पक्षका बारेमा सुझाव दिने, मनहरी गाउँपालिकाको वडा कार्यालय निर्माणका लागि बजेट सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकमा जिसस प्रमुख खुलालले कोभिड–१९ का सन्दर्भमा जिससले संचालन गरेको होल्डिङ स्टेसनका बारेमा जानकारी गराउनुभएको थियो । स्थानीय तह तथा विभिन्न संघसंस्थाको सहयोग र सहकार्यमा जिससले व्यवस्थापन गर्ने गरी होल्डिङ स्टेसन संचालन भएको उहाँले जानकारी दिनुभयो । साथै हालसम्म होल्डिङ स्टेसनमा बाहिरबाट जिल्लाका विभिन्न स्थानीय तहमा आएका नागरिकहरुहरुलाई सेवा प्रदान गरिएको जानकारी दिनुभएको थियो । हालसम्म कुवेत र ओमानवाट आएका तीन चरणका नागरिकलाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । यसका साथै बैठकले जिससका सम्पुर्ण पदाधिकारी एवम् कर्मचारीलगायत सबैको कोभिड बीमा गर्ने निर्णय समेत गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।

बैठकले मौजदात कोषको रकमबाट मनहरी गाउँपालिकाको विभिन्न वडा कार्यालय भवन निर्माणका लागि रकम प्रदान गर्ने निर्णय गरेको छ । बैठकले जिससको मौजदात कोषबाट गाउँपालिकाको ५ वटा वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै स्थानीय तहहरुको नदिजन्य पदार्थको वातावरणीय प्रभाव परिक्षण पुनरावलोकन तथा सिफारीस समिति गठन गरेको छ । जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरलेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो ।

बैठकले जिल्लास्थित स्थानीय तहहरुलाई आगामी वर्षको नीति कार्यक्रम तथा बजेट निर्माण गर्दा ध्यान दिने विषयहरुका बारेमा सुझाव दिने निर्णय गरेको छ । बैठकले आगामी वर्षको बजेट निर्माण गर्दा कोभिड–१९ महामारीलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिने निर्णय गरेको छ । आगामी वर्षको बजेट तयार पार्दा विकास निर्माणसँगै रोजगार, स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक, बालबालिकाको क्षेत्रलाई पनि ध्यान दिन सुझाव दिने निर्णय गरेको छ । बजेटमा सहयोगापेक्षी सडकमानव मुक्तका लागि, स्थानीय तह शहिद स्मृती राष्ट्रिय फुटबल प्रतियोगिताका लागि, बालमैत्री स्थानीय तह निर्माणका लागि बजेटको व्यवस्था गर्न सुझाव दिने निर्णय गरेको छ । साथै सुचना तथा संचारको क्षेत्रमा सामुदायिक रेडियोसँग साझेदारी गर्न सुझाव दिने समेत निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले गैरसरकारी संस्थाहरुको समन्वय एवम् नियमनका लागि आगामी बैठकमा पेश गर्ने गरी कार्यविधि तयार पार्ने निर्णय गर्नुका साथै थाहा नगरपालिकाको जनकल्याण माविको ठेक्का अवधिका बारेमा निर्णय गरेको छ । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत जिससका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिती थियो ।