हेटौँडा रन बारे पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै ।

हेटौँडाः आउँदो शुक्रबार हेटौँडामा खुल्ला राष्ट्रिय पुरुष हेटौँडा रन प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा ५ किलोमिटरको दूरी पार गरेर प्रथम हुने खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । खेलाडीले पार गर्नुपर्ने दूरीका आधारमा यो आकर्षक पुरस्कार राशी हो । प्रतियोेगितामा द्वितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले ४० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रोत्साहन स्वरुप २ जनालाई १०/१० हजार रुपैयाँ नगर राशी प्रदान गरिने छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले आउँदो शुक्रबार हुने प्रतियोगिताको बारेमा जानकारी दिनुभएको छ । प्रतियोगितामा १६ वर्ष भन्दा अधिक उमेर समुहका पुरुष सहभागी हुने पाउने अध्यक्ष घिमिरेले बताउनुभयो । युवा र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिकाले प्रत्येक वर्ष करोडौं वजेट विनियोजन र योजना कार्यान्वयन गर्दै आएको उहाँले बताउनुभयो । हेटौँडा बजारको बुद्धचोकबाट कान्तिराजपथतर्फ पिप्लेसम्म पुगेर पुनः बुद्धचोकमा फर्केर ५ किलोमिटर दौड पूरा हुनेछ ।

प्रतियागिता आयोजनाका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । नगर खेलकुद विकास समितिमा मनोनित भएपछि घिमिरे नेतृत्वको समितिले पहिलो औपचारिक कार्यक्रमको रुपमा पत्रकार सम्मेलन आयोजना गरेको हो ।