हेटौँडाः बारा जिल्लामा शनिबार सम्पन्न प्रगतिशील टि–२० क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर जिल्लाको क्रिकेट टिमले जितेको छ । फाइनल खेलमा रौतहट जिल्लाको क्रिकेट टिमलाई १ सय १ रनको विशाल अन्तरले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । उपाधिसहित मकवानपुरले ५० हजार रुपैयाँ नगद, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता रौतहटले ३० हजार नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
टस जितेर फिल्डिङको निम्तो पाएको मकवानपुरले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९८ रन जोड्यो । मकवानपुरका लागि शुभ कंशाकारले ९८ रनको योगदान गरे भने गौरव खड्का ७२ रन बनाएर अविजित रहे । जवाफी व्याटिङमा उत्रिएको रौतहटले १३ ओभर ४ बलमा सबै विकेट गुमाएर ९७ रन मात्रै जोड्न सक्यो । रौतहटलाई सस्तैमा समेट्ने क्रममा मकवानपुरका रोहित ठाकुरले ४ विकेट लिए भने विशाल फुयाँल र असीम श्रेष्ठले २/२ विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच र प्रतियोगिताकै उत्कृष्ट खेलाडी मकवानपुरका शुभ कंशाकार घोषित भए । मकवानपुरका असीम श्रेष्ठ प्रतियोेगिताको उत्कृष्ट बलर घोषित भए । बारा जिल्लाको डुमरवानामा स्थानीय प्रगतिशील युवा क्लबको आयोेजनामा चौथो प्रगतिशील टि–२० क्रिकेट प्रतियोगिता भएको हो । मकवानपुरले समूह चरणमा आयोजक प्रगतिशील युवा क्लब र पर्सा जिल्ला क्रिकेट टिमलाई पराजित गर्दै फाइनल प्र्रवेश गरेको थियो ।