बाटोको सरसफाइका लागि सहभागीहरु

हेटौंडाः मकमनकामना मन्दिर पदयात्रामा पर्ने बाटोमा सरसफाइ गरिएको छ । जलवायु कार्यका लागि नेपाली युवा संस्थामा आवद्ध युवाहरुको समूहले मन्दिरको भ्रमण गर्ने क्रममा आइतबार बाटोको सरसफाइ गरेका हुन् ।

मनकामना मन्दिर हेटौंडाको उत्तरतर्फको डाँडाको उचाईमा पर्ने भएकाले हेटौंडाको विभिन्न ठाउँहरुको दृश्य हेर्ने सकिन्छ । मनकामना मन्दिरको दर्शन तथा पदयात्राका लागि दैनिक सयौं मानिस आवतजावत गर्ने भएकोले सरसफाइ गरेको संस्थाका निश्चल भट्टराईले बताउनुभएको छ ।

मन्दिर जाने बाटोमा दुर्गन्ध नआओस् भन्ने उद्देश्यले सरसफाइ गरेको उहाँले बताउनुभयो । हेटौंडाका अधिकांश मानिसहरु मनकामना मन्दिरमा पूजा आराधना गर्न जाने भएकाले फोहोरजन्य वस्तुका कारण नकारात्मक प्रभाव नपरोस् भन्ने लक्ष्यसहित संस्थाका सदस्यहरुको सहभागितामा सरसफाइ गरिएको उहाँले बताउनुभयो ।

मन्दिरको पैदल मार्गमा धेरै प्लास्टिकजन्य फोहोर भएकाले पनि त्यहाँ सरसफाइ गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । त्यस क्षेत्रमा आउने पर्यटक तथा भक्तजनहरुमा फोहोरका कारण नकारात्मक असर पर्ने सम्भावना रहेकाले फोहोर न्यूनीकरण गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

सफाइको क्रममा मनकामना जाने बाटोमा अन्य फोहोरभन्दा गुट्खाजन्य फोहोर धेरै देखिएकाले यसमा स्थानीय सरकारको पनि ध्यान नपुगेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘मानिसहरुमा सचेतनाको कमी र ठाउँठाउँमा फोहर व्यवस्थापन गर्ने भाँडोको कमी भएकाले सरसफाइमा समस्या छ । सबै सरोकारवाला निकायहरुबीच समन्वय गरी वातावरण सरसफाइको कार्यमा लाग्नुपर्छ ।’ यस संस्थामा वन विज्ञान क्याम्पसका करिब ७० जना विद्यार्थीहरु आवद्ध रहेका छन् ।