हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–५, बोटबारीबाट प्रहरीले ७० किलो लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–१ सानो भावर बस्ने ५० वर्षीय पुर्ण बहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र राक्सिराङ गाउँपालिका–२ भाटी घर भई हाल हेटौँडा–११, थानाभर्याङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार प्रहरी चौकिबाट प्रहरी सहायक निरक्षक खटिएको गस्ती टोलिले गस्ति गर्दै जाने क्रममा राक्सिराङको भित्री सडक खण्डमा परेवा भिरबाट पलासे तर्फ आउदै गरेको प्रदेश ३–००१ ह ०१९६ नम्बरको अटोलाई शंका लागी रोक्न खोज्दा अटो नरोकी भगाउने क्रममा पल्टिदा प्रहरीले २ (दुई) वटा बोरामा ७० किलो ६ सय ग्राम लागुऔषध गाँजा फेला पारेको थियो । लागुऔषध गाँजासहित ३ नै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुर लगिएको र अटो चालक फरार रहेकोले खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।