हेटौंडाः हेटौंडा–११ को हेटौंडा एकेडेमीले रजतजयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । विद्यालय सञ्चालनमा आएको २५ वर्ष पूरा भएको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले जानकारी दिनुभयो ।
शनिबार विद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष सुमार्गीले कार्यक्रम यही माघ २९ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने बताउनुभयो । विद्यालयले धर्म, संस्कृति, कला, साहित्य र प्रविधिलाई एकीकृत गरी विश्व परिवेश सुहाउँदो शिक्षा दिइरहेको उहाँले जानकारी दिनुभयो । विद्यालयले विद्यार्थीहरुलाई केन्द्रमा राखेर कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको उहाँँको भनाइ छ ।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन २९ गते सांस्कृतिक झाँकी, स्काउट समूहसहित शोभायात्रा गरिने भएको छ । दोस्रो दिन फागुन १ गते माधवराज सुमार्गी स्मृति अन्तर मावि टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाली क्रिकेट टिमका वर्तमान प्रशिक्षक जगत टमाटाको प्रमुख आतिथ्यमा फागुन १ गते उद्घाटन भई ३ गते क्रिकेट प्रतियोगिता समापन हुनेछ । क्रिकेट प्रतियोगितामा विजेताले नगद १५ हजार र उपविजेताले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विद्यालयले नेपाल क्रिकेट संघ र मकवानपुर क्रिकेट संघको सहकार्यमा एचए क्रिकेट एकेडेमी सञ्चालन गर्न लागेको अध्यक्ष सुमार्गीले बताउनुभयो । क्रिकेट मैदानको निर्माण कार्य भइरहेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघ, मकवानपुर क्रिकेट संघ र विद्यालयबीच सम्झौतापत्र आदानप्रदान गरिनेसमेत उहाँले बताउनुभयो ।
कार्यक्रमको तेश्रो दिन फागुन २ गते रुपचन्द्र विष्ट थाहा स्मृति अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँसहित पुस्तकसमेत प्राप्त गर्नेछन् । कार्यक्रमको चौथो दिन हेटौंडा एकेडेमी गायन प्रतियोगिता र पाँचौ दिन विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुनेछ ।
कार्यक्रमको छैठौं दिन फागुन ५ गते वृहत् कवि सम्मेलन हुने भएको छ । विन्दबासिनी मिडिया प्रालि र हेटौंडा एकेडेमीको संयुक्त आयोजनामा र व्यङ्ग्य विधामा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कवि लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्यमा वृहत् कवि सम्मेलन आयोजना हुनेछ । कार्यक्रममा राष्ट्रियस्तरमा ख्यातिप्राप्त व्यङ्ग्य कवि अर्जुन पराजुलीसहित चितवनबाट धनराज गिरी, एलबी क्षेत्री, पुष्प अधिकारी ‘अन्जली’, भुपेनका साथै बारा, पर्सा, रौतहट र मकवानपुरका मुर्धन्य कविहरुको साथमा हेटौंडा एकेडेमीका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले कविता वाचन गर्नेछन् ।
कार्यक्रमको अन्तिम दिन फागुन ६ गते रजतजयन्ती मूल समारोह हुनेछ । वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यमा आयोजना हुने मूल समारोहमा रजतजयन्ती स्मारिका बिमोचनका साथै सम्मान कार्यक्रम, पुरस्कार वितरण कार्यक्रम तथा विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिनेछ ।