उपाधि साथ एपीएफको टिम ।

हेटौँडाः छैठौं स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि एपीएफले जितेको छ । एपीएफले न्यू रोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै एपीएफले नगद १५ लाख रुपैयाँ पाएको छ । उपविजेता एनआरटीले १० लाख रुपैयाँ पाएको छ ।

हेटौँडा–६ स्थित गौरिटार रंगशालामा भएको फाइनल खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा बागमती प्रदेश खेलकुद विकास परिषद्, हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका सबै पालिकाको सहयोग रहेको छ । शनिबार बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा विदेशीसहित १२ वटा टिमको सहभागिता रहेको थियो ।