हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५ स्थित सिद्धार्थ शिशु सदन विद्यालयका विद्यार्थीहरुले विभिन्न पक्षमा वडा अध्यक्षसँग प्रश्न उठाएका छन् । बुधबार भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न पक्षहरुमा वडा अध्यक्ष तथा वडा सदस्य सामु आप्mना प्रश्न राखेका हुन् ।
कार्यक्रममा बालबालिकाले कुनै स्थानमा बत्ती नभएका कारण राति सडकमा हिँड्न समस्या हुने बताउँदै फोहोर व्यवस्थापन नभएको कारण असहज हुने बताए । यस्तै, विद्यालयमा महिला हिंसा, बाल अधिकार, बालबालिका समूह, किशोर–किशोरीको बैठक तथा संसदलगायतका विषयहरुमा छलफल भएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–५ का वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । विद्यालयको आयोजनामा भएको कार्यक्रममा वडा सदस्य रजिता सिलवाल, भगवती बिक र ज्ञानबहादुर थापाको आतिथ्य रहेको थियो ।
कार्यक्रममा १५–२० जना विद्यार्थीद्वारा वडाध्यक्ष तथा सदस्यहरुलाई प्रश्न सोधिएको हो । विद्यालयले पाठ्यक्रममा भएको प्रजातान्त्रिक अभ्यास गर्न र वडाको लक्ष्यमा सहजीकरण गर्न कार्यक्रमको आयोजना गरेको हो । बालबालिकाले बालविवाहसम्बन्धी प्रश्न उठाउँदा वडा अध्यक्ष घिमिरेले वडाअन्तर्गत् तीनवटा विवाह रद्द गरिएको बताउनुभयो । आफ्नो वडाले शिक्षा र स्वास्थ्यमा जोड दिने गरेको वडा सदस्य सिलवालले बताउनुभयो ।
विद्यार्थीहरुले वडाको बाल समूहको विषयमा कुरा उठाउँदा वडाले टोलमा १६ वटा र विद्यालयहरुमा ९ वटा समूह गठन गरेको सिलवालले बताउनुभयो । आर्थिक अभाव भएका विद्यार्थीहरुको शिक्षामा निरन्तरताका लागि वडाले ५ लाख रुपैयाँ र वडा सञ्जालले विद्यार्थीको अतिरिक्त क्रियाकलापका लागि ३ लाख रुपैयाँ छुट्याएको बताइएको छ ।
कार्यक्रममा सिलवालले महिलाहरुको लागि आयआर्जन, हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो । हेटौंडा–५ ले दिगो हुने गरी कार्यक्रम गरिरहेको उहाँको भनाइ छ । कार्यक्रममा ६ कक्षादेखि १० कक्षासम्मका बालबालिकाको सहभागिता रहेको थियो ।